नरसिंह धाम गइरहेकी महिलाको अचानक मुटु दुखेर मृत्यु

नरसिंह धाम गइरहेकी महिलाको अचानक मुटु दुखेर मृत्यु

धादिङ : धादिङको निलकण्ठ नगरपालिका-९ पाल्पा भञ्ज्याङमा स्कारपियो गाडीमा यात्रा गरिरहेकी एक महिलाको अचानक मुटु दुखेर मृत्यु भएको छ।

काठमाडौंबाट सल्यान्टार नरसिंहधामतर्फ जाँदै गरेको बा १६ च ७९७८ नम्बरको स्कारपियोमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ निवासी ५२ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार आइतबार बिहान करिब ८:३० बजे यात्राकै क्रममा श्रेष्ठलाई अचानक मुटु दुखेर उनी अचेत भएकी थिइन्।

अचेत भएकी श्रेष्ठलाई उपचारका लागि सोही गाडीमा राखी उनकी देउरानी सानुमाया श्रेष्ठले तत्काल जिल्ला अस्पताल धादिङ पुर्याएकी थिइन्।

तर, अस्पताल पुर्याएलगत्तै बिहान ९:२५ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल धादिङलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला अस्पतालमा खटिएका प्रहरी सहायक हवल्दार हृदयराम मुराउमार्फत जिल्ला प्रहरी कार्यालय धादिङमा जानकारी प्राप्त भएको थियो।

मृतक श्रेष्ठको शवलाई सोही दिन साँझ ५:२० बजे पोस्टमार्टम (शव परीक्षण) पश्चात् उनका छोरा सुमन श्रेष्ठले बुझेका छन्।

असार २, २०८३ मंगलबार ११:३४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।