कर्णाली प्रदेशको बजेट : ३५ अर्ब ३९ करोडको बजेटमा स्वास्थ्य र सुरुङ्गी योजना प्राथमिकतामा

कर्णाली प्रदेशको बजेट : ३५ अर्ब ३९ करोडको बजेटमा स्वास्थ्य र सुरुङ्गी योजना प्राथमिकतामा

काठमाडौं : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले चालु आवको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गर्दै आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

पुँजीगतमा २० अर्ब ७४ करोड ६७ लाख र चालुमा ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ विनियोजित छ। योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रकम विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ८५ करोड पाँच लाख ९० हजार र चालु आवको खर्च नभई बचत हुने रकम ६ अर्ब ४१ करोड ५१ लाख नौ हजार, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त हुने रकम १० अर्ब ६६ करोड ५० लाख विनियोजन गरिएको छ।

वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट पाँच अर्ब ६७ करोड २५ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फ ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

बजेटमा पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई १० अर्ब ९३ करोड राखिएको छ। सुर्खेत, दैलेख र डोल्पाका सहरलाई 'स्मार्ट सिटी' बनाउन ३७ करोड र बहुप्रतिक्षित भेरी लिफ्टिङ खानेपानी आयोजनाका लागि ३० करोड राखिएको छ।

प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न २३ करोड, जलन उपचार केन्द्रका लागि ४ करोड, महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता शतप्रतिशत वृद्धि गरी वार्षिक २४ हजार पुर्याइएको छ।

शिक्षा र कृषिमा 'हप्ताको एक दिन किताबरहित शुक्रबार' कार्यक्रम र डिजिटल प्रविधि सञ्चालनका लागि ७ करोड राखिएको छ भने हिमाली क्षेत्रमा भेडा/च्याङ्ग्रा पालनका लागि १२ करोड राखिएको छ।

हवाई उडानमा सुर्खेत विमानस्थल विस्तारका लागि ५ करोड र कर्णालीका दुर्गम जिल्लामा आन्तरिक उडान नियमित गरिने उल्लेख छ।

प्रदेशको बजेट

असार १, २०८३ सोमबार २३:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।