'देश बनाउने टोली' का सदस्य मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिए
काठमाडौं : आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले अन्य दुई मन्त्री गृहमन्त्री सुधन गुरुङ अनि पूर्वाधार मन्त्री सुनिल लम्सालसहितको तस्बिर राखेर लेखे 'देश बनाउने टोली।'
उनको टोलीका गृहमन्त्री जेनजी आन्दोलनको किडन्यापरको रूपमा परिचित हुँदै शंकास्पद सम्पत्तिसम्म तानिएकै छन्। सम्पत्ति छानबिन गराएर प्रधानमन्त्री वालेन्द्रले गोप्य राखेका छन्। अर्का लम्साल यस अगाडि नै ठेकेदार नआएको भन्दै प्रहरी लगाउने अराजक गतिविधिमा तानिएकै थिए। अब उनी सार्वजनिक रूपमै ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिँदै हिँडेका छन्।
निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएको भिडियो सञ्जालमा सार्वजनिक भएको हो।
भिडियोमा अनुगमनको क्रममा मन्त्री लम्सालले ‘यो बिजुलीको पोलको कनट्र्याक्ट पेपर र कनट्र्याक्ट कहाँ छ, खोजेर ल्याउनुस्। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन। यहाँको पब्लिकले धेरै दुःख पाए' भनेका छन्।
आयोजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्न संयोजनकारी भूमिकामा रहेका मन्त्रिले सार्वजनिक रूपमा खुट्टा भाँच्न भनेपछि अहिले आलोचना भइरहेको छ।
निर्वाचनको प्रचारको बेलामा वालेन्द्रले पनि यस्तै अराजक अभिव्यक्ति दिँदै ठेकेदारलाई सडकमा सुताएर होस् कि रूखमा बाँधेर होस् काम गराउनु पर्ने अभिव्यक्ति दिएका थिए।
मन्त्री सुनिल वालेन्द्रका कलेजकालीन साथीसँगै काठमाडौँ महानगरको मेयर हुँदा सचिवालयमा थिए। वालेन्द्र फागुन २१ को निर्वाचनमा रास्वपा गएपछि|लम्साल महामन्त्री बन्दै रास्वपा प्रवेश गरेका थिए। निर्वाचनमा निर्वाचित भएका उनी प्रारम्भमा गृहमन्त्रीको रूपमा चर्चामा रहे पनि पछि भौतिक मन्त्री भए। सो मन्त्रालयको नाम बदलेर अहिले पुनर्निर्माण मन्त्रालय राखिएको छ।
लम्सालले छलफल गर्न ठेकेदारहरूलाई प्रहरी लगाएर मन्त्रालय बोलाएपछि निर्माण व्यवसायीहरूले आलोचना गरेका थिए। निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूले पुनर्निर्माण मन्त्रालयको दबाबले काम गर्ने वातावरण नभएको बताएका थिए।
निर्माण व्यवसायीहरूले मध्यपूर्व द्वन्द्वपछि निर्माण सामग्री अभावका कारण काम प्रभावित बनेको भन्दै सहजीकरणको लागि सरकारसँग आग्रह गरिरहेका छन्।
असार १, २०८३ सोमबार १४:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।