वाङको निमन्त्रणामा चीन गएका परराष्ट्रमन्त्री खनाल बेइजिङमा
काठमाडौं: चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणका लागि उनी बेइजिङ पुगेका हुन्।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार आइतबार अपराह्न त्यहाँ पुगेका हुन्। बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ स्वागत समारोह आयोजना गर्दै छ। समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने दूतावासले जनाएको छ।
चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री वाङसंग नेपाल–चीन सम्बन्धबारे छलफल गर्नेछन्। उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ।
जेठ ३१, २०८३ आइतबार १३:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।