ललितपुरमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली, ३० हजार क्याप्सुलसहित ३ जना पक्राउ
काठमाडौं : प्रहरीले गोली चलाएर ललितपुरबाट ठूलो परिमाणको लागुऔषध ट्रामाडोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार ललितपुर महानगरपालिका- २३ स्थित गौरीगाउँबाट नख्खुतर्फ जाँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन हवाई फायर गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका-३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतीय नागरिकहरू ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन्।
ब्यूरोका अनुसार बाराबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश BAD९२०१ नम्बरको रातो सुजुकी कारभित्र लागुऔषध लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
गौरीगाउँमा उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा उनीहरूले अटेर गरी भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।
प्रहरीले कारको डिक्कीभित्र लुकाइराखेको अवस्थामा प्रतिबन्धित ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। लागुऔषधका साथै प्रहरीले प्रयोग गरिएको कार, मोटरसाइकल र ५ थान मोबाइल समेत नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ ३०, २०८३ शनिबार २१:३२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।