संसद्‌मा वालेन्द्र सरकारको जवाफदेहिता खोज्ने हर्कको गुनासो : 'देशलाई माया गर्दा गाली खाइरहेको मान्छे हुँ'

संसद्‌मा वालेन्द्र सरकारको जवाफदेहिता खोज्ने हर्कको गुनासो : 'देशलाई माया गर्दा गाली खाइरहेको मान्छे हुँ'

काठमाडौं : संसद्प्रति सरकारको जवाफदेहिता खोज्ने क्रममा चर्को सुनिने आवाज मध्येको शीर्ष स्थानमा रहेको नाम हो, हर्कराज राई 'साम्पाङ'। उनी सरकारको पारदर्शिता र जवाफदेहिता खोज्न संसददेखि सडक र सामाजिक सञ्जालसम्म सक्रिय देखिन्छन्। 

प्रधानमन्त्री वालेन्द्र शाह स्थानीय चुनावमा मेयर पदमा स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित हुँदा हर्क पनि त्यहिबेला धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएर चर्चामा आएका हुन्। 

विशेषगरी धरानको खानेपानीको लागि एक्लो आवाज र आन्दोलन बनेका हर्क मेयरमा निर्वाचित भएपछि स्थानीयलाई श्रम दानमा जोडेर धरानमा खानेपानी आयोजना, श्रम संस्कृति पार्क निर्माण देखि विकाशका आयोजनामा लागे। राज्यसँग आफ्ना र नागरिकका कुरा राख्ने र खबरदारी गर्न उनले सामाजिक सञ्जाललाई माध्यम बनाए।

सामाजिक सञ्जालमा चर्को ढंगले प्रस्तुत हुन थालेपछि उनलाई कतिपयले आलोचना र सुझाव पनि दिन थाले। उनले गाली पनि खाए। यता जेनजी आन्दोलनपछि फेरिएको माहोलसँगै काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह वालेन्द्रको रूपमा राजनीतिको केन्द्रमा पुग्दा हर्क पनि संसदीय राजनीतिमा डेब्यु गरे। मेयरका रूपमा पनि उनीहरू दुवै जनाको सार्वजनिक सम्बन्ध तितो र मित्रतापूर्ण देखिएको थियो। 

बालेन सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलको नेता चुनिँदै प्रधानमन्त्री वालेन्द्र शाह बने भने आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरेर चुनावमा होमिएका हर्क प्रतिपक्षी बेन्चमा पुगे। उनी प्रतिपक्षमा रहेर वालेन्द्र सरकारको जवाफदेहिता र पारदर्शिता मुखर आवाज बन्न थाले। 

नयाँ शक्ति भएको कारण उनी संसदमा रहेका अन्य दलनका नेताहरूभन्दा बढी सुनिन थाले। उनी संसद् र सामाजिक सञ्जालमा निरन्तर खबरदारीका आवाज बने। त्यसैले उनका आलोचक पनि बढ्न थाले। हर्कका अभिव्यक्तिमा समर्थनको साथ साथै दुर्व्यवहारपूर्ण भाषाको प्रयोग हुन थाल्यो। त्यसक्रम बढ्दै गएको उनी बताउँछन्।

सामाजिक सञ्जालमा उनी लक्षित आउने प्रतिक्रियाहरूलाई लिएर उनले के सोच्छन् ? कसरी लिन्छन् ?  शनिबार काठमाडौंमा श्रम संस्कृति पार्टीद्वारा आयोजित साक्षात्कार कार्यक्रममा त्यस विषयमा उनले आफ्नो कुरा खोलेका छन्। देशप्रतिको आफ्नो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनुपरेको उनको भनाइ छ।  

संसारमै सबैभन्दा बढी गाली र अपमान गरिने व्यक्ति आफू भएको अनुभूति भएको उनले सुनाए। उनले भने, "मैले सबैभन्दा पहिले के महसुस गर्छु भने यो देशलाई माया गर्दा दुनियाँभरका मानिसले गाली गर्दा रहेछन्। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने र अपमान गरिने मान्छे म हुँ। मैले किन गाली खाइराख्नुपरेको छ भने म देशलाई बिछट्टै माया गर्छु।"

साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरै पटक रोएको र हाँसेको बताए। उनले भने, "देशलाई सम्झेरै थुप्रै पटक रोएको छु, हाँसेको पनि छु। हाँसेँ भने यो देशसँगै हाँसौँला, रोएँ भने यो देशसँगै रोऔँला। देश बिर्सिएर एकै पल पनि बाँच्न नपरोस्।"

आफ्ना आलोचकतिर संकेत गर्दै उनले भने, "मलाई धेरै मान्छेले माटोमा मिलाउँछु भन्छन्। मलाई कहाँ मिलाउने ? म आफैँ माटो हुँ।" धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको भए पनि अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको भन्दै उनले आफू विरुद्ध हुने गालीको संख्या झन् बढ्दै गएको बताए।

उनले भने, "आज पनि मलाई गाली गर्नेहरूको संख्या अझै धेरै बढेको छ। पहिले धरानको मेयर हुँदा मैले दिनको एक हजार वटा गाली पाउँथेँ। अहिले दिनको १० हजार वटा गाली खाइरहेको छु। गाली गर्ने ती विद्वान व्यक्तिहरू, महानुभाव र बौद्धिक व्यक्तिहरूलाई हार्दिक सम्मान र माया सम्झना छ। यसरी नै गाली गर्नुहोस् ।"

उनले थप भने, "म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरू खुट्टा तान्दै गर्नुहोस्। अन्ततः जित मेरै हुनेछ।" आफूले भोग्ने अपमानलाई पनि सहज रूपमा स्वीकार गर्ने उल्लेख गर्दै उनले भने, "बेस्सरी अपमानित गर्नुहोस्, सबै स्वीकार्य छ।"

जेठ ३०, २०८३ शनिबार १७:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।