१ करोड ३० लाखमा रेस्टुरेन्ट किनेर पैसा नतिरेपछि सेफ सन्तोष साह पक्राउ
काठमाडौं : सेफ सन्तोष साह पक्राउ परेका छन्।
उपत्यका अनुसन्धान कार्यालय टेकुको टोलीले गएराती उनलाई जनकपुरबाट पक्राउ गरेर काठमाडौं ल्याएको कार्यालयका एसएसपी सन्तोष खड्काले उकेरालाई जानकारी दिए।
उनले भने, ‘सिरहा घर भएका सन्तोष शाहलाई हाम्रो टोली हिजो बेलुका जनकपुरबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।’
उनका अनुसार साहलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो। गैरीधाराको मिथिला थाली रेस्टुरेन्ट खरिदको क्रममा १ करोड ३० लाखमा डिल भएकोमा १५ लाख मात्र दिएको र बाँकी रकमका लागि विभिन्न समयका चेकहरू दिएका थिए।
सोही अनुसार २५ लाख रुपैयाँको चेक साट्न जाँदा रकम नपाएपछि पीडितले चेक बाउन्समा जिल्ला प्रहरी परिसरमा उजुरी दिएको एसएसपी खड्काले जानकारी दिए। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसरले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउको अनुमति मागेको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालय लेनदेन र सामान्य विवाद भन्दा पनि काठमाडौं उपत्यकामा भएका गम्भीर अपराधको अनुसन्धान गर्ने निकाय हो। तर उसले सार्वजनिक गरेका विज्ञप्ति अनुसारै यो कार्यालय पछिल्लो समय आर्थिक लेनदेन केन्द्रित घटनामा सक्रिय देखिन्छ।
वृत्त (डिएसपी) तहबाट हुनसक्ने अनुसन्धानमा पनि एसएसपी तहको र गम्भीर अपराध अनुसन्धानको कार्यालय संलग्न हुने गरेको देखिन्छ।
जेठ ३०, २०८३ शनिबार ०९:३०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।