छोरी जन्मिए प्रोत्साहन भत्ता
म्याग्दी : जिल्लाको अन्नपूर्ण गाउँपालिकाले छोरीको जन्मलाई प्रोत्साहन गर्ने र उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले एउटा विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ।
गाउँपालिकाले समाजमा छोरीप्रतिको दृष्टिकोणमा सुधार ल्याउन ‘छोरी जन्म प्रोत्साहन’ कार्यक्रम सुरु गरेको हो।
विशेषगरी छोरीप्रतिको सकारात्मक सोचको विकास, लैङ्गिक समानताको प्रवर्द्धन, बालिकाको सुरक्षित भविष्य र गर्भमै लिङ्ग पहिचान गरी हुने भ्रूण हत्या जस्ता विकृति न्यूनीकरण गर्ने लक्ष्यका साथ यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनका अनुसार यस कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु ५ लाख बजेट विनियोजन गरिएको छ।
यसअन्तर्गत वि.सं. २०८२ साउन १ गतेयता जन्मिएका छोरीका अभिभावकलाई प्रोत्साहन स्वरूप एकमुष्ट रु १२ हजार प्रदान गरिनेछ।
‘समाजमा बालिका जन्मप्रति सकारात्मक सन्देश प्रवाह गर्न यो कार्यक्रम निकै उपयोगी हुने विश्वास लिएका छौँ,’ उपाध्यक्ष पुनले भनिन्, ‘छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार यसै आर्थिक वर्षको बजेटमार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।’
यस कार्यक्रमले बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा समेत टेवा पुर्याउने लक्ष्य राखिएको छ।
यो कार्यक्रम अन्तर्गत लाभ लिनका लागि २०८२ साउन १ गतेयता जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले आगामी असार ७ गतेभित्र गाउँपालिकामा आवेदन पेस गरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए।
जेठ ३०, २०८३ शनिबार ०८:४८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।