आफ्नो विवादमा टुच्चटुच्च प्रधानमन्त्री वालेन्द्रको नाम किन तानिरहेका छन् अर्थमन्त्री वाग्लेले ?

आफ्नो विवादमा टुच्चटुच्च प्रधानमन्त्री वालेन्द्रको नाम किन तानिरहेका छन् अर्थमन्त्री वाग्लेले ?

काठमाडौं : विद्युतीय सवारीको करको दर बढेको सूचना चुहाएको अनि संसदमा पेस भइरहेको बजेट खुसुखुसु संशोधन गरेको विवादमा तानिएका प्रधानमन्त्री वालेन्द्र शाह हैनन्, अर्थमन्त्री स्वर्णिम वाग्ले हुन्।

विपक्षी दलका सांसदहरूले यसबारे संसदीय समिति होस् या प्रतिनिधि सभा होस् प्रश्न उनै अर्थमन्त्री वाग्लेलाई सोधिरहेका छन्। करको दर चुहाएको अनि बजेट चलाएकोबारे प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको नाम लिएका छैनन्। छानबिनका लागि संसदीय समिति गठनको माग गरिएको पनि अर्थमन्त्रीको व्यवहारबारे हो।

तर आफूमाथि उठिरहेको प्रश्नको उत्तर दिनेक्रममा वाग्लेले पटक पटक प्रधानमन्त्री शाहलाई पनि आफूसँगै तानिरहेका छन्। बिहीबार अर्थ समितिमा बजेटबारे उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले आफ्नो बचाउ त गरे नै सँगै प्रधानमन्त्री शाहलाई पनि आफूसँगै जोडे।

उनले समितिको बैठकमा आफूमाथि उठिरहेको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहलाई आफ्नो विवादमा तान्दै भने “एउटा ठूलो वर्गलाई रास्वपाको म्यान्डेटबाट अझै पचिसकेको छैन। कसरी हुन्छ लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई बनाउने, यत्ति हो।”

उनले शुक्रवार पनि बजेटबारे आफूमाथि उठेको प्रश्नमा अनावश्यक रूपमा प्रधानमन्त्री शाहलाई तानिहाले। प्रतिनिधि सभामा विनियोजित विधेयकमाथि छलफलकोक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसद्बाट पास हुने बजेटले कार्यान्वयनको चरणबारे प्रश्न गरेकी थिइन्।

उनले बजेट कार्यान्वयन गर्दा धेरै अधिकार कार्यपालिकाले नै निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने गरिएको भन्दै प्रश्न गरेकी थिइन्। त्यसको जवाफमा अर्थमन्त्री वाग्लेले वेस्ट मिनिस्टर प्रणाली भनेकी यस्तै हुने भन्दै यसमा व्यवस्थापिकाले सबै म्यान्डेट कार्यपालिकालाई दिने गरेको बताए।

सांसद ओलीलाई वेस्टमिनिस्टर प्रणालीको पाठ पढाइरहेकै बेलामा उनले एकाएक पुन प्रधानमन्त्री वालेन्द्रको प्रशंग ल्याएर वेस्टमिनिस्टरबाट प्रधानमन्त्री कसरी फालिन्छ भन्ने संसदीय प्रणाली पढाउन थाले।

उनले प्रधानमन्त्री नियुक्त गर्ने र फ्याँक्ने थलो संसद् भएको बताउँदै मन नपरेको खण्डमा सरकारै फाल्न पाइने’ बताए।

प्रधानमन्त्री शाह र वाग्लेको सम्बन्ध

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि कारागारमा रहँदा वालेन्द्र समूहले कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनाएर रविलाई संरक्षक बनाउन चाहेको थियो। त्यो बेलामा रास्वपाको नेतृत्व प्यारासुट जम्पबाट आउन नसक्ने भनेर वाग्लेसहितले प्रतिवाद गरेका थिए। त्यसपछि यो प्रशंसा टुंगियो।

सम्भावित बिगो राखेर लामिछाने कारागारबाट बाहिरिएपछि शाह काठमाडौं महानगरपालिकाको मेयर पद छाडेर रास्वपाको वरिष्ठ नेताको रूपमा दोस्रो मर्यादाक्रममा पार्टीमा प्रवेश गरे। वाग्ले उपसभापतिको चौथो मर्यादाक्रममा पुगे।

फागुन २१ को निर्वाचनमा रास्वपाका सबै उम्मेदवारहरूको प्रचारमा सघाउन वालेन्द्र प्राय सबै निर्वाचन क्षेत्रमा पुग्दा चितवन गएर पनि वाग्लेको तनहुँ गएका थिएनन्। जब रास्वपाको १८२ सिट आयो तब सरकार गठनको रूपरेखा बन्न थाल्यो। प्रधानमन्त्रीमा वालेन्द्रको विकल्प थिएन। मन्त्रीहरूबारे भने लेखाजोखा शुरुहुँदा अर्थमन्त्रीमा वाग्ले अटाएका थिएनन्।

रवि टिमका विश्वासपात्र रहे पनि वालेन्द्र वाग्लेको साटो नयाँ सांसद सुशान्त वैदिकलाई अर्थमन्त्रीमा अगाडि बढाइरहेका थिए। रवि समूहबाट यदि अर्थमन्त्री नभए गृह आफ्नो समूहलाई चाहिने दबाब बढाएपछि वालेन्द्र समूहले अर्थमा स्वर्णिमलाई स्विकारेर गृह आफ्नो समूहमा राखेको थियो। एकै मन्त्रीपरिषद्मा रहे पनि उनीहरुबीचको सम्बन्ध सुधारिन सकेको छैन। दुवैको सम्बन्ध प्रधानमन्त्री र मन्त्रीको औपचारिक मात्र रहेको प्रधानमन्त्री वालेन्द्रको सचिवालयका एक सदस्यले बताए।

करको दर छलीमा अनुसन्धानमा हस्तक्षेप

बजेटमा बढ्ने विद्धुतिय सवारीसाधनको दर बढ्ने सूचना चुहिएको आशंकामा एकाएक नेपाल-चीन भन्सारबाट भित्रिएका विद्धुतिय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लियो। त्यो बेलामा गृह मन्त्रालय प्रधानमन्त्री वालेन्द्रले नै सम्हालेका थिए।

विद्धुतिय सवारीसाधन नियन्त्रणमा लिने काम अर्थको निर्देशनमा नभई गृहको निर्देशनमा भयो। त्यसपछि मात्र अर्थले रसुवा भन्सारका ६ कर्मचारीलाई तानेर छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठनले करको दर चुहिएको शंका सरकारले नै गरेको पुष्टि भयो। अहिले अर्थमन्त्रीमाथि त्यही आधारमा संसदीय छानबिन समितिको माग भइरहेको छ। यसमा अर्थमन्त्रीले तथ्यपरक जवाफको साटो सञ्चारमाध्यम र प्रश्न उठाउने विपक्षी दलका सांसदहरूलाई धम्क्याउन केन्द्रित छन् नै, प्रशंग नभए पनि टुच्चटुच्च यो विवादमा प्रधानमन्त्री वालेन्द्रको नाम मुछ्ने गरेका छन्।

जेठ २९, २०८३ शुक्रबार १६:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।