‘सुशासनको नारासँग सरकारको कार्यशैली मेल खाएन’
काठमाडौं : नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुशासनको नारा दिएर बनेको सरकारले छानबिनको घेरामा रहेका व्यक्तिलाई नै पुनः मन्त्री नियुक्त गरी शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्रीमाथि उठेका प्रश्नबारे गठित समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई नै पुनः सोही जिम्मेवारी दिएको भन्दै सुशासनको नारासँग सरकारको कार्यशैली मेल नखाएको बताए।
उनले भने, "गृहमन्त्रीज्यूमाथि प्रश्न उठेपछि छलछाम समिति बनाइयो। सुनिन्छ, समितिले चोख्याएर प्रतिवेदन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो।"
उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भए पनि त्यसलाई सार्वजनिक नगरिएको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। खड्काले एकातिर सुशासनको नारा लगाउने र अर्कोतर्फ विवादमा परेकाहरूलाई नै जिम्मेवारी दिने काम भइरहेको टिप्पणी गरे।
उनले भने, "एकातिर सुशासनको नारा लगाउने तर अर्कोतिर प्रश्न उठेका आफ्नोलाई पुरस्कृत गर्ने काम भइरहेको छ। सरकार आफैँ धामी, आफैँ पुरस्कृत गर्दै हिँड्ने भयो। क्रमभंगता र सुशासनको गफ हाँक्न छोडौं।"
खड्काले सरकारले सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाए। उनले सरकार आफैँ न्यायाधीश र आफैँ पुरस्कार दिने भूमिकामा देखिएको भन्दै सुशासनका विषयमा केवल भाषणभन्दा व्यवहारमा सुधार आवश्यक रहेको बताए।
जेठ २९, २०८३ शुक्रबार १४:५६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।