सुस्तामा भारतीय सुरक्षा बलले नेपालीलाई धम्क्याएको भन्दै हर्क साम्पाङद्वारा संसद्‌मा रक्षामन्त्रीको खोजी

सुस्तामा भारतीय सुरक्षा बलले नेपालीलाई धम्क्याएको भन्दै हर्क साम्पाङद्वारा संसद्‌मा रक्षामन्त्रीको खोजी

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले सुस्ता सीमा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकहरूमाथि हप्कीदप्की गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले यस विषयमा जवाफ माग्न संसद्‌मा रक्षामन्त्रीको उपस्थिति गराउन सभामुखसँग माग गरेका हुन्।

प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको विवादित अभिव्यक्तिको विरोधमा आफूहरूले ११औं दिनसम्म प्लेकार्ड देखाएर विरोध प्रदर्शन गर्दा पनि प्रधानमन्त्री संसद्‌मा उपस्थित हुने छाँटकाँट नदेखिएको साम्पाङले बताए।

‘प्रधानमन्त्रीज्यू त आउनुहुन्न। अब नेपाल सरकारको रक्षामन्त्री को हुनुहुन्छ, सभामुखज्यूले रुलिङ गरेर बोलाइदिनुपर्यो। हामी उहाँलाई केही प्रश्न सोध्न चाहन्छौँ’, साम्पाङले भने।

सुस्ता क्षेत्रमा नेपाली नागरिकहरू आफ्नै भूमिको रक्षाका लागि संघर्ष गरिरहेको भिडियो सार्वजनिक भएको साम्पाङले बताए।

उनले भने, ‘सुस्ता भन्ने ठाउँमा भारतीय एसएसबी आएर नेपाली दाजुभाइलाई हप्कीदप्की गरेको र स्थानीयहरू फ्नो भूमिरक्षाका लागि सङ्घर्ष गरिरहेको भिडियो सार्वजनिक भएका छन्। यस्तो संवेदनशील समयमा हाम्रा रक्षामन्त्री कहाँ हुनुहुन्छ?’

सांसद राईले नेपाली सेनालाई सीमा क्षेत्रमा जान र अवलोकन गर्नबाट रोक्ने खालका के-कस्ता नीति वा सम्झौताहरू भएका छन् भन्दै प्रश्नसमेत उठाए।

‘हाम्रो नेपाली सेना सिमानामा जानै नहुने के कसम खाएको रहेछ? अवलोकन गर्न पनि पठाउन नमिल्ने कस्तो करार गरिएको रहेछ? त्यो संसद्‌मा देखाइदिनुपर्यो। हामी सार्वभौम सांसदहरू यस विषयमा सत्यतथ्य बुझ्न चाहन्छौँ’, उनले भने।

हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन्।

जेठ २९, २०८३ शुक्रबार १२:१०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।