चितवनमा भीरबाट लडेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
चितवन : चितवनको राप्ती नगरपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. १२ बस्ने दीपलाल प्रजाकी ३२ वर्षीया श्रीमती लक्ष्मीमाया प्रजा रहेकी छन्।
प्रहरीका अनुसार गत जेठ २२ गते बिहान अन्दाजी साढे ९ बजे आफ्नो घरबाट करिब एक घण्टा पैदल दुरीमा रहेको कसरी डाँडाको जङ्गलमा घाँस काट्ने क्रममा लक्ष्मीमाया भीरबाट लडेकी थिइन्।
भीरबाट खस्दा उनको ढाड लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घाइते प्रजालाई सोही दिन बिहान ११:३० बजे उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचाररत उनको जेठ २९ गते राति १२:१० बजे चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
अस्पतालमा कार्यरत प्रहरी सहायक हवल्दार कृष्णराज बड्डुले घटनाका बारेमा इलाका प्रहरी कार्यालय भण्डारालाई जानकारी गराएका थिए। घटनास्थल इलाका प्रहरी कार्यालय भण्डाराबाट करिब ३० किलोमिटर उत्तरतर्फ पर्दछ।
जेठ २९, २०८३ शुक्रबार १०:४८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।