उचाइको धोकाले भारोत्तोलनमा जमेकी मनीषा
आफूले पूरा गर्न नपाएका इच्छाहरू छोराछोरीले पूरा गरिदिउन् भन्ने बाआमालाई लाग्नु स्वाभाविक नै हो । अभाव र जिम्मेवारीले थिचिएपछि अभिभावकलाई आफ्ना सपना छोराछोरीले पूरा गरिदिउन् भन्ने लाग्छ नै ।
मनीषाको जीवनमा पनि त्यस्तै भयो । उनका बुबा कराँतेका सौखिन थिए । उनी कराँते खेलाडी हुन चाहन्थे तर पञ्चायतकालमा सहजै खेल्न पाइँदैनथ्यो, लुकेर खेल्नुपर्थ्यो ।
“बुबाका गुरु भारतबाट सिकेर आउनुभएको थियो रे । बुबाहरूसँग पैसा नभएर हजुरबुवाको खल्तीबाट सुटुक्क निकालेर तिर्नुभएको थियो रे,” मनीषाले भनिन्, “ब्ल्याक बेल्ट लिने बेलामा गुरु नै भागिदिनुभएछ ।”
आफ्नो इच्छा पूरा नभएपछि मनीषाका बुबाले प्रण गरे- ‘छोरा जन्मिउन् या छोरी, कराँते नै सिकाउँछु ।’
सानैदेखि कराँतेमा
जन्मथलो स्याङ्जा भए पनि मनीषाको हुर्काइबढाइ काठमाडौँमै भयो । स्याङ्जामा जग्गाजमिन त थियो तर त्यसले धौधौ पर्छ भनेर उनका बाआमा काठमाडौँ आए ।
२०५१ सालमा जेठो सन्तानका रूपमा जन्मिएकी हुन् उनी । मनीषाको परिवार काठमाडौँमा बसाइँ सर्दा उनी जम्मा १७ दिनकी मात्रै थिइन् । उनका बुबाले काठमाडौँको कपनमा कपडा पसल सुरु गरे । उनी त्यही पसलको कपडाको थानमा हुर्किइन् । भाइ र बहिनी काठमाडौँमै जन्मिए ।
उनी काठमाडौँको बौद्धमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भर्ना भइन् । विद्यालयसँगै उनका बुबाले आफ्नो मनको रहर पूरा गर्न बौद्धमै रहेको ‘नेपाल सितोरियो कराँते डो’ शाखामा पनि भर्ना गरिदिए । जुन बेला उनी कराँतेमा भर्ना भइन्, त्यस बेला उनी जम्मा ६ वर्षकी थिइन् ।
कक्षा ४ सम्म उनले त्यतै पढ्ने अनि सिक्ने गरिन् । तर, उनका बुबालाई यति प्रशिक्षणले मात्र छोरी राम्रो खेलाडी नहुने हो कि भन्ने चिन्ता थियो । त्यसपछि उनलाई त्यताबाट निकालेर थप प्रशिक्षणका लागि पुतलीसडकको होस्टलमा राखियो । जब उनी कक्षा ५ मा पुगिन्, त्यतिन्जेल उनले आफ्नो उमेर समूहका खेलहरू जित्न थालिसकेकी थिइन् ।
उनी पुतलीसडकस्थित होस्टलमा बसेर पढ्थिन् भने रङ्गशालामा सिक्न जान्थिन् । बिहान ६ बजे दशरथ रङ्गशाला जाने, ९ बजेसम्म प्रशिक्षण गर्ने र पुनः होस्टल फर्केर स्कुल जाने । कक्षा १० सम्म उनको दैनिकी यस्तै रह्यो ।
रङ्गशालामा आर्मी टिमका प्रशिक्षक थिए । लामो समय उनले आर्मीकै प्रशिक्षकबाट कराँते सिकिन् । बेलाबेला राष्ट्रिय टिमका प्रशिक्षकसमेत उनीहरूको खेल हेर्न आउँथे । राम्रो खेलेर मुख्य प्रशिक्षकको नजरमा पर्न सके राष्ट्रिय टिममा पर्न सकिन्छ भन्ने बुझेकी मनीषा पनि खुब मेहनत गर्थिन् ।
कराँतेका मुख्य प्रशिक्षक थिए, दीपक श्रेष्ठ । रङ्गशालामा सिकाएर उनी लिटिल एन्जल्समा पनि सिकाउने गर्थे । मनीषा मुख्य प्रशिक्षकसँगै सिक्न चाहन्थिन् । उनले यो कुरा थाहा पाएपछि कक्षा ११ र १२ त्यही कलेजमा पढ्ने निधो गरिन् । उनको परिवारको आर्थिक अवस्था लिटिल एन्जल्समा पढाउन सक्ने खालको थिएन, तर छोरीले किन त्यहाँ पढ्न चाहेकी हुन् भनेर बुझेपछि बुबाले नाइँनास्ती गरेनन् र भर्ना गरिदिए ।
कक्षा ११ को शुल्क परिवारले बल्लबल्ल तिर्यो । कक्षा १२ मा भने उनको खेल कौशलले काम गर्यो । विभिन्न कलेज स्तरका खेलमा पदक जितेपछि उनले कक्षा १२ मा पूर्ण छात्रवृत्ति पाइन् ।
मनीषा कक्षा १२ पढ्दै गर्दा छैटौँ राष्ट्रिय खेलकुद हुने पक्कापक्की भयो । यो त्यही प्रतियोगिता हो, जसमा राम्रो गरेर खेलाडीले राष्ट्रिय स्तरमा कीर्तिमान राख्ने र राष्ट्रिय टिममा पर्न सक्ने सम्भावना हुन्थ्यो । मनीषाले यसमा भाग लिइन् । उनले कीर्तिमान त राख्न सकिनन्, तर यो उनका लागि अनुभव बटुल्ने महत्त्वपूर्ण प्रतियोगिता बन्यो ।
सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने मनीषाले स्वर्ण पदक (गोल्ड मेडल) जितिन् । उनी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमै थिइन् । उनले उक्त प्रतियोगितामा कीर्तिमान राखेर संन्यास लिने र प्रशिक्षक (कोच) हुने तयारी गरेकी थिइन् । तर प्रशिक्षणका क्रममा उनको घाँटीमा चोट लाग्यो र २२ दिन अस्पतालमा बस्नुपर्यो ।
त्यसपछि भने उनले संन्यास लिने सोच त्यागेर प्रशिक्षणमै फर्किइन् । त्यसपछिका प्रतियोगिता पनि उनले खेलिन्, तर सरकारले समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता नगर्दा उनका ब्याचका कैयौँ खेलाडी खेल क्षेत्रबाट बिदा भइसकेका थिए ।
एकै ब्याचका साथीहरूले खेल क्षेत्र छोड्दा दिक्क लाग्नु स्वाभाविकै हो । सरकारले समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता गरिदिएको भए खेलाडीहरू खेल क्षेत्रबाट बाहिरिने थिएनन् कि भन्ने लाग्छ उनलाई ।
“अब १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुने कुरा छ । यो २ वर्षअघि नै हुनुपर्ने खेल हो । समयमै प्रतियोगिता नहुँदा कति साथीहरू विदेश गए । एक जना बहिनीले त आत्महत्या नै गरिन् ।”
मनीषाले खेललाई अगाडि बढाउने क्रममा पढाइलाई पनि सँगै लगिन् । प्लस टुमा होटल म्यानेजमेन्ट पढेकी मनीषाले पूरै समय पढाइलाई दिन नसक्ने भएपछि शङ्करदेव क्याम्पसमा व्यवस्थापन विषय लिएर भर्ना भइन् । व्यवस्थापन लिएर पढ्दा भने उनको खेलमा कुनै बाधा पुग्ने थिएन । बिहान प्रशिक्षणका लागि रङ्गशाला जाने र दिउँसो पढ्न शङ्करदेव जाने उनको रुटिन बन्यो ।
२-२ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ र परीक्षा पनि समयमै हुन्छ भनेर उनले त्यहीअनुसार तयारी गरेकी थिइन् । तर प्रतियोगिता तोकेको समयमा भइदिएन । त्यसको मार उनको पढाइमा पर्न थाल्यो, स्नातक सक्नै गाह्रो भयो ।
“२-२ वर्षमा खेलहरू हुन्छन् भनेर भर्ना गरेँ तर न त खेल हुन सक्यो, न परीक्षा नै समयमा हुन सक्यो,” उनी भन्छिन्, “उता परीक्षा हुँदा यता खेल छुट्ने भयो । कहिले आफू बन्दसत्र (क्याम्प) मा हुँदा परीक्षाको फारम भर्न जान पाइएन । चान्स परीक्षा आउँदा पनि दिन पाइएन ।”
भविष्यमा प्रशिक्षक बन्ने सपना देखेकी मनीषा पढाइलाई पुनः निरन्तरता दिन शङ्करदेवमै भर्ना भइन् ।
‘उचाइले दिएको धोका’
खेलमा मनीषाले उचाइ चुमिरहेकी थिइन्, तर उनलाई आफ्नै शरीरको उचाइले भने धोका दियो । सानोमा उचाइका बारेमा थाहा हुने कुरा भएन । राष्ट्रिय स्तरमै खेल्ने खेलाडी बन्छु भन्ने मनीषालाई पनि यो कुरा थाहा थिएन । प्रशिक्षण गर्दै जाँदा र खेलमै रमाउन थालेपछि भने उनलाई उचाइले नै कराँते खेल्न दिएन ।
१६ वर्षको उमेरमा एसियन प्रतियोगिता खेल्ने मौका आयो, तर उचाइकै कारण उनी छनोट हुन सकिनन् । उचाइ नपुगेको भन्दै विभागीय टिमले समेत नलिएको तीतो अनुभव उनले सुनाइन् ।
“मेरो उमेर पुगे पनि कराँतेका लागि उचाइ पुगेन । एसियन गेम खेल्न पाइनँ । पुलिस र आर्मीले पनि लिएनन् । उचाइकै कारण कति वर्ष त मैले आर्मी क्लबबाट करारमा खेलेँ”, उनले भनिन् ।
उचाइकै कारण आफू छनोट भएको प्रतियोगितामा पनि आफूलाई हराइएको उनको अनुभव छ । खेलमा देखादेखी धाँधली भएको भन्दै उनले प्रशिक्षक र बुबालाई गुनासो गरिन् । आफूले राम्रो खेल्दाखेल्दै पनि हराएपछि उनले कराँते महासङ्घमा समेत कुरा राखिन् । तर महासङ्घका पदाधिकारीले उल्टै ‘जो गए पनि जित्ने होइन, हामी यत्तिकै सहभागी मात्र हुने हो । हाइट (उचाइ) मिल्नेलाई लैजानुपर्छ’ भने ।
…अनि भारोत्तोलन
मनीषाको कराँतेबाट अन्तर्राष्ट्रिय खेलाडी बन्ने सानैदेखिको सपना पूरा नहुने भयो । तैपनि खेल नै छोडेर जाने उनको इच्छा थिएन । बारम्बार उचाइकै कुरा आएपछि प्रशिक्षक दीपक श्रेष्ठले उनलाई उचाइ नचाहिने खेल खेल्न सुझाव दिए ।
यो कुरा बुबाआमालाई सुनाएपछि उनीहरूले पढाइलाई निरन्तरता दिँदै अर्कै खेल भए पनि अगाडि बढाउन सुझाए । सानैदेखिको रुचि भएको कराँतेबाट टाढा हुन उनको मनले मानेको थिएन । तैपनि उनले बिस्तारै भारोत्तोलनमा अभ्यास गर्न थालिन् ।
कराँते प्राविधिक (टेक्निकल) खेल भएको र भारोत्तोलन बल प्रयोग गर्नुपर्ने खेल भएकाले सुरुमा मनीषालाई गाह्रो भयो । आफूसँगै सिकिरहेका साथीहरूले कराँते सिकिरहँदा उनलाई सुरुमा भारोत्तोलनमा मन लागेको थिएन । तर पछि उनले यसै खेललाई निरन्तरता दिने निधो गरिन् र भारोत्तोलनलाई अगाडि बढाइन् ।
भारोत्तोलन टन्न खाएर आनन्दले दिउँसो खेल्नुपर्ने खेल थियो । कराँतेचाहिँ बिहान खेल्ने र दिउँसो पढ्न जान मिल्ने खेल थियो । पहिला उनलाई 'यत्रो १५ वर्ष कराँतेमा पाएको उपलब्धि भारोत्तोलनमा कसरी पाउँछु होला' जस्तो लाग्थ्यो । तर अहिले उनलाई लाग्छ- सानैदेखि भारोत्तोलन सिकेकी भए अन्तर्राष्ट्रिय पदक हात पारिसक्थेँ ।
भारोत्तोलनमा उनको पहिलो प्रतियोगिता ‘लुम्बिनी कप’ हो । सुरुमा प्रशिक्षण लिँदा ज्यान नै गलेको जस्तो हुने, दुख्ने जस्ता समस्या आए । तर पछि नियम बुझेर भारी उठाउन जानेपछि भने आफूलाई रमाइलो लाग्न थालेको उनी बताउँछिन् ।
“सुरुमा ट्रेनिङ गरुन्जेल त मलाई मन पनि लागेको थिएन । किनभने निकै भारी बोकेको जस्तो हुने, ज्यान पनि दुख्ने हुन्थ्यो, टेक्निक पनि नमिल्ने । पछि खेल्दै गएपछि नियमहरू मज्जाले बुझियो । अनि रमाइलो लाग्न थाल्यो”, उनले भनिन् ।
भारोत्तोलनबाट मनीषाको पहिलो कमाइ १० हजार रुपैयाँ थियो । साथै, कराँतेमा जस्तो मेडलको खडेरी पनि नहुने भएकाले उनी अहिले यसैमा रमाउन थालेकी छन् । कैयन् प्रतियोगितामा अनुभवी विभागीय टिमका खेलाडीलाई समेत जित्न थालेपछि मनीषाले यसै खेलमा आफ्नो भविष्य देख्दै गएकी छन् ।
कराँतेबाट अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुन नपाएकी मनीषाले भारोत्तोलनबाट भने 'वर्ल्ड युनिभर्सिटी' प्रतियोगितामा भाग लिन पाइन् । त्यस बेला उनी पोल्यान्ड, चीन र इरानमा गएर खेलिन् ।
अहिले भारोत्तोलनले दिएको सफलताले गर्दा कहिलेकाहीँ मनीषालाई लाग्छ- ‘सानैदेखि भारोत्तोलन खेलेको भए ओलम्पिक पो खेल्थेँ कि !’
“मैले ६ वर्षकै उमेरदेखि कराँते खेल्न थालेँ, त्यही बेलादेखि नै भारोत्तोलन खेलेको भए ओलम्पिक पनि खेल्थेँ कि भन्ने लाग्छ । तर त्यो त भाग्यमा पनि लेखेर आएको हुनुपर्छ” , उनले हाँस्दै भनिन् ।
अहिले मनीषाले आफैँले कराँते नखेले पनि विभिन्न विद्यालयमा प्रशिक्षकका रूपमा सिकाउँछिन् । आफ्नो सपना पूरा नभए पनि भविष्यमा आफूले सिकाएका विद्यार्थीले आफ्नो सपना पूरा गर्छन् कि भन्ने आस छ उनलाई ।
उनी भन्छिन्, “म अहिले भारोत्तोलनकी खेलाडी भए पनि विद्यार्थीलाई कराँते सिकाउँछु । भोलिका दिनमा मेरा विद्यार्थीले कराँतेमा पुरस्कार ल्याउँदा, त्यो मैले नै जितेसरह हुन्छ।”
असार १, २०८३ सोमबार १३:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।