बेपत्ताको खोजी, उद्धार तथा राहतमा संघसंस्थासहित दललाई पनि खटाउन नेपालको आग्रह

बेपत्ताको खोजी, उद्धार तथा राहतमा संघसंस्थासहित दललाई पनि खटाउन नेपालको आग्रह

वीरगञ्ज : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले ठूलो संघर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षा र सुशासनसहितको सेवा प्रवाहको लागि परिवर्तनकारी राजनीतिक शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन्।

शनिबार वीरगञ्जमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ। जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायको संवैधानिक अधिकार संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए। 

वर्तमान सरकारप्रति जनताको तीव्र आकाङ्क्षा भएकाले जनताको चाहनाअनुसार काम गर्नुपर्ने उनको धारणा छ। यही भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्ने उनको भनाइ छ।

नेपालले भने, “देश अहिले विपत्मा छ, हिमाली बाडीका कारण ठूलो जनधनको क्षति भएको छ। खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधन, विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई पनि उद्धार र राहतमा खटाउन सक्नुपर्छ।”

उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरे। 

भदौ २७, २०८३ शनिबार १९:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।