धितोपत्र बजारमा सङ्गठित चलखेल : ८१ जनाविरुद्ध एक अर्ब १४ करोडको बिगोसहित मुद्दा दायर

धितोपत्र बजारमा सङ्गठित चलखेल : ८१ जनाविरुद्ध एक अर्ब १४ करोडको बिगोसहित मुद्दा दायर

काठमाडौं : धितोपत्र बजारमा सङ्गठित रूपमा गैरकानुनी चलखेल गरी ठगी गरेको अभियोगमा बिचौलिया दीपक भट्टसहित ८१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अभियोग पत्र दर्ता गरेको हो।

मुद्दामा इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्ट र शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाललाई मुख्य योजनाकारका रूपमा प्रस्तुत गरिएको छ। 

प्रतिवादीहरूमा हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, सञ्चालकहरू रोहित गुप्ता, अमित मोर, ऋषराज मोर र भृकुटी स्टक ब्रोकिङका सञ्चालक सन्दीप चाचन अग्रवाल लगायत विभिन्न बीमा तथा धितोपत्र कम्पनीका पदाधिकारीहरू रहेका छन्।

उनीहरूमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ (झुट्टा कारोबार), ९५ (मूल्यमा उतारचढाव), ९६ (धितोपत्र बजारलाई प्रभावित पारेको) र ९८ (जालसाजीयुक्त कारोबार) बमोजिमको कसुर गरेको अभियोग लगाइएको छ।

अभियोग पत्रका अनुसार प्रतिवादीहरूले नेपाल रि-इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सर्कुलर ट्रेडिङमार्फत कृत्रिम माग र मूल्य सिर्जना गरेका थिए।

प्रतिवादी सुलभ अग्रवाल अध्यक्ष रहेको सौर्य सिमेन्ट र जगदम्बा स्टील्सको नक्सालस्थित कार्यालयको एउटै आईपी एड्रेस प्रयोग गरी विभिन्न कम्पनीका नाममा शेयर खरिद-बिक्री भएको देखिएको छ। यस्तो अभ्यासबाट शेयरको मूल्य अस्वाभाविक रूपमा बढाई सर्वसाधारण लगानीकर्तालाई भ्रममा पारिएको दाबी गरिएको छ। 

सरकारी वकिलले दायर गरेको मुद्दामा प्रतिवादीहरूबाट कुल एक अर्ब १४ करोड बढी हानी-नोक्सानी बिगोका रूपमा भराउन माग गरिएको छ। जसमध्ये हिमालयन रि-इन्स्योरेन्स लिमिटेडलाई मात्रै ७२ करोड १४ लाख रुपैयाँभन्दा बढी क्षति पुर्याइएको अभियोग पत्रमा उल्लेख छ।

सजायका हकमा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ को उपदफा (२) र (३) बमोजिम कसुरदारलाई ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र एकदेखि दुई वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।

८१ प्रतिवादीमध्ये हाल दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि विशेष अदालतको न्यायिक हिरासतमा छन्। उनीहरूलाई बयानका लागि काठमाडौं जिल्ला अदालत झिकाउन माग गरिएको छ। 

अन्य पक्राउ परेका प्रतिवादीहरू आशिष श्रेष्ठ, शेखर गोल्छा र सुभास बहादुर श्रेष्ठ लगायत हाजिर जमानीमा छुटेका छन् भने ठुलो सङ्ख्यामा प्रतिवादीहरू अझै फरार रहेका छन्। 

जेठ २८, २०८३ बिहीबार १९:३२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।