दीपक भट्ट र सुलभसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर, ४२ करोड बिगो दाबी
काठमाडौं : बैंकिङ कसुर अभियोगमा व्यवसायीहरू दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध ४२ करोड १४ लाख बढी बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
बैंकबाट लिएको कर्जा प्रयोजन विपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा बिहीबार उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरिएको हो। प्रतिवादीहरूमाथि ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका आधारमा दायर अभियोग पत्रमा जगदम्बा स्टील्सका लागि लिइएको 'वर्किङ क्यापिटल लोन' को रकम दीपक भट्ट र इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि-इन्स्योरेन्समा लगानी गरेको र जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको उल्लेख छ।
बैंकलाई भ्रममा पारी कर्जा दुरुपयोग गरेको भन्दै उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कारबाहीको माग गरिएको छ।
हाल दीपक भट्ट र सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् भने साहिल अग्रवाल फरार सूचीमा रहेका छन्। अर्का प्रतिवादी शंकरलाल अग्रवाल अनुसन्धानका क्रममा पक्राउ परेपछि हाजिरी जमानीमा रिहा भएका थिए।
यसैगरी, धितोपत्र र बीमा ऐन विरुद्धको कसुरमा पनि दीपक भट्ट र सुलभ अग्रवालसहित उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई समेत प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
जेठ २८, २०८३ बिहीबार १९:००:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।