क्रस बोर्डर अकुपेशनको यकिन विवरण संकलन गरिँदै छ : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचका सीमा सम्बन्धी विषयहरूलाई ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा उनले सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको बताए। उनले सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय वार्तालाई नै प्राथमिकता दिइएको बताए।
खनालले भने, "नेपाल-भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साको आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल सधैँ प्रतिबद्ध छ।"
प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा प्रश्नोत्तरको क्रममा भनेको 'बेलायतको प्रसङ्ग' तेस्रो पक्षको मध्यस्थताका लागि नभई १८१६ को सुगौली सन्धि सम्बन्धी 'सन्दर्भ सामग्री प्राप्त गर्ने प्रयोजनका लागि मात्र भएको खनालको भनाइ थियो।
उनले भने, "तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका हैनौं, खाली तत्कालीन अवस्थाको सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई इङ्गित गर्नुभएको हो।"
नेपाल र भारतबीचको नदी सीमा क्षेत्रमा अपनाइएको फिक्स्ड बाउन्ड्री प्रिन्सिपल (स्थिर सीमा सिद्धान्त) का कारण क्रस बोर्डर अकुपेशनको समस्या देखिएको र त्यसको समाधानका लागि प्राविधिक लगत सङ्कलन भइरहेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्तिको विषय खासगरी दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनको प्राविधिक यथार्थसँग सम्बन्धित रहेको खनालको दाबी छ।
उनले भने, "प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खासगरी दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ। नेपाल-भारत सीमा निर्धारण गर्दा नदी सीमा क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभाग भित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ।"
खनालले दशगजामा भएको अतिक्रमण र क्रस बोर्डर अकुपेशनको यकिन विवरण प्राप्त गर्न म्यापिङको कार्य भइरहेको खनालले जानकारी दिए। अहिले वैज्ञानिक ढङ्गले नक्साङ्कन, सीमा स्तम्भ निर्माण, मर्मत तथा अतिक्रमणको लगत सङ्कलनको काम भइरहेको उनले बताए।
"नेपाल र भारत बीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेशनको लगत सङ्कलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्," खनालले भने, "लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको छ।"
उनले दुई देशबीचको घनिष्ठ सम्बन्धको मर्म अनुरूप कूटनीतिक वार्ताका माध्यमबाट बाँकी रहेका समस्या समाधान गरिने बताए। परराष्ट्र सम्बन्ध संवेदनशील विषय भएकाले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले कार्य गरिरहेको उनको भनाइ थियो।
जेठ २८, २०८३ बिहीबार १८:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।