बजेटमाथि हर्कको प्रश्न : प्राथमिकता खुट्टाको घाउ उपचार गर्ने कि नयाँ जुत्ता किन्ने ?
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकारले ल्याएको बजेटले जनताका आधारभूत समस्या समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले विकासको नाममा 'नयाँ जुत्ता' किन्नु भन्दा खुट्टाको 'घाउ' निको पार्ने अर्थात् देशका मुख्य समस्या समाधानतर्फ बजेट केन्द्रित हुनुपर्ने बताए।
"समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर ?," बजेटमाथि प्रश्न उठाउँदै उनले सोधे, "खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।"
राईले बजेटलाई केवल पैसा उठाउने र खर्च गर्ने योजनाका रूपमा मात्र नहेरी यसले जनताको दैनिक जीवनमा कस्तो प्रभाव पार्छ भन्नेतर्फ गम्भीर हुनुपर्ने बताए। नेपालमा पेट्रोलियम पदार्थको मूल्य विश्वमै महँगो हुनुले आम उपभोक्तालाई मार परेको पनि बताए। बजेटले देशका आधारभूत विषयलाई सम्बोधन गर्न नसकेको उनको भनाई छ।
बजेट निर्माणमा समस्याको प्राथमिकताबारे समस्या देखिएको भन्दै राईले भने, "खानेपानीको समस्यासँग बाटोको समस्या तुलना गर्दा बाटो त हामी ६ महिनासम्म धुलोमा पनि हिँड्न सक्छौं तर खानेपानी चाहिँ एक दिन पनि हामी पानी छैन भने बाँच्न सक्दैनौं।"
देशमा एआईका कुरा भइरहँदा धरान शहरका कतिपय वडामा अझै टेलिकमको सिग्नल नटिप्ने समस्या रहेको भन्दै उनले ग्रामीण र हिमाली क्षेत्रको दूरसञ्चार अवस्था सुधार्न सरकारको ध्यानाकर्षण गराए। सरकारले घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने योजना अघि सारेको प्रति राईले असन्तुष्टि जनाए।
सरकार जग्गा व्यापारी वा रियल इस्टेट व्यवसायी नभएको उल्लेख गर्दै उनले सरकारको मुख्य दायित्व शान्ति सुव्यवस्था कायम गर्ने र सेवा सुविधा प्रवाह गर्ने मात्र भएको स्मरण गराए। बजेटले सुकुमबासी व्यवस्थापन, किसानका समस्या र मजदुरका मुद्दालाई पर्याप्त मात्रामा सम्बोधन गर्न नसकेको उनको टिप्पणी थियो।
जेठ २८, २०८३ बिहीबार १६:३३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।