कांग्रेस बचाउन वृहत् एकतामा डा. महतको जोड
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेता कार्यकर्तामा बढ्दो मनोवैज्ञानिक खाडल र खस्कँदो जनधारको कारण पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गरेका छन्।
बिहीबार बुढानीलकण्ठस्थित आफ्नै निवासमा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा उनले कांग्रेसको परम्परागत जनधार खस्किएको अवस्थामा पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउन वृहत् एकता आवश्यकता रहेको बताए।
पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने पक्षधर समूह र विशेष अधिवेशनमार्फत नेतृत्वमा पुगेका समूहबीच देशभर मनोवैज्ञानिक खाडल विद्यमान रहेको उनको भनाइ थियो। यो मनोवैज्ञानिक खाडल कायम रहे पार्टी अझ कमजोर बन्न सक्ने चेतावनी दिँदै उनले आन्तरिक समझदारी र सहकार्यको आवश्यकता औँल्याए।
उनले भने, "नेपाली कांग्रेस पार्टीको चुनौतीपूर्ण घडीमा रहेको छ। पार्टीको जुन जनधार थियो, त्यो अहिले खस्केको अवस्था छ। पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने भन्ने एउटा पक्षका साथीहरू र विशेष अधिवेशनमा भाग लिएर एउटा नेतृत्वमा पुगेका व्यक्तिहरू बिचमा देशभरि एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ।"
उनका अनुसार वृहत् एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुनुपर्छ। त्यसका लागि नियमित महाधिवेशनको पक्षमा रहेका नेता र विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वबीच सहमति र समझदारी आवश्यक रहेको उनले बताए।
उनले भने, "वृहत् एकताको लागि १५औँ महाधिवेशनको निष्पक्षे निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन आवश्यकता रहेको छ। त्यसको लागि नियमित अधिवेशन नेतृत्व गरेका साथीहरू र विशेष अधिवेशन लागि निर्वाचित भएका साथीहरू एउटा समझदारी हुन जरुरी छ ।"
महतले आगामी १५औँ महाधिवेशन निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने सुनिश्चितता हुन सके मात्रै पार्टीभित्रको विश्वास बलियो बन्ने र कांग्रेस पुनः सुदृढ हुने विश्वास व्यक्त गरे।
जेठ २८, २०८३ बिहीबार १५:०६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।