भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही

भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : सांसद शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो विवरण पेस गरेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा सुशासनका लागि हरियो रिबन बाँधेर आन्दोलन गरेको र छानबिन समितिको माग गरेको स्मरण गराउँदै सत्तामा पुगेपछि नेताहरूले पुराना प्रतिबद्धता बिर्सने गरेको टिप्पणी गरे।

उनले भने, "सुशासनको पक्षमा हामीले हरियो रिबन बाँधेका थियौं, आन्दोलन पनि गरेका थियौं, छानबिन समितिको माग पनि गरेका थियौं। तर यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ। भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। समिति रहरले माग गरेको होइन। अर्थमन्त्रीज्यूलाई काम गर्न नदिने भन्ने पनि होइन।"

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरेलगत्तै अर्थमन्त्रीले पटक–पटक करका दरहरू चलाएको र सूचना चुहाएको आरोप लागेको छ। 

यसै सम्बन्धमा अर्थमन्त्री वाग्लेले बुधबार अर्थ समितिको बैठकमा उपस्थित हुँदै आफूले विनियोजित विधेयक नचलाएको दाबी गरेका थिए। 

जेठ २८, २०८३ बिहीबार १२:२६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।