प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने, आजै अर्थमन्त्रीले जवाफ दिएर तीनवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं : प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलले निरन्तरता पाउने भएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूची अनुसार बैठकमा बजेटमाथिको छलफलसँगै महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
हिजो बुधबार पनि सदनमा बजेटमाथि सामान्य छलफल भएको थियो। आजको बैठकमा सोही छलफललाई निरन्तरता दिन लागिएको हो। हिजोकै बैठकमा सभामुख डोलप्रसाद अर्यालले आजको छलफलका लागि ४ घण्टाको समय निर्धारण गरेको जानकारी गराएका थिए।
बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथिको सामान्य छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
बजेटमाथिको छलफल र अर्थमन्त्रीको जवाफपछि व्यवस्थापन कार्यअन्तर्गत तीनवटा विधेयकहरू सदनमा प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ।
जसअनुसार अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सो विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सो विधेयक प्रस्तुत गर्ने तथा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकका लागि यी विषयहरूलाई सम्भावित कार्यसूचीका रूपमा समेटिएको छ।
जेठ २८, २०८३ बिहीबार ०९:१६:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।