पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
फाइल तस्बिर

मान्म : लगातारको वर्षापछि पहिरो जाँदा अवरुद्ध बनेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मंगलबार र बुधबारको अविरल वर्षाका कारण सडक अवरुद्ध भएको थियो।

वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका-८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेको थियो।

सुर्खेत-हुम्ला सडकखण्डमा पर्ने उक्त क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।

सडकको माथिल्लो भागबाट अझै पनि ढुङ्गा खस्ने जोखिम रहेको, सडक साँघुरो भएको र धेरै ठाउँमा एकतर्फी मात्र गाडी चल्ने भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी जनक शर्माले आग्रह गरे।

जेठ २८, २०८३ बिहीबार ०७:४२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।