एमाले नेता थापाको प्रश्न– संसद्को उपहास गरेर प्रधानमन्त्री किन फेरि रोस्ट्रममा आउन चाहनुहुन्न?

एमाले नेता थापाको प्रश्न– संसद्को उपहास गरेर प्रधानमन्त्री किन फेरि रोस्ट्रममा आउन चाहनुहुन्न?

काठमाडौं : एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा दिएको प्रष्टीकरण मान्य नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले यो अभिव्यक्ति प्रधानमन्त्रीकै भएकाले यसको जवाफ स्वयं प्रधानमन्त्रीले नै दिनुपर्ने बताए। 

उनले भने, "जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ। परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन। किन कि यो उहाँको अभिव्यक्ति नै होइन। सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो। संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं।’

संसद्‌मा जारी गतिरोध र प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै नेता थापाले प्रधानमन्त्री फेरि प्रतिनिधिसभाको रोस्ट्रममा उभिन किन नचाहेको भनी प्रश्न गरे। प्रधानमन्त्रीको यस्तो व्यवहारले देशलाई कुन दिशामा लैजान खोजिएको हो भन्दै उनले संसद्‌मा प्रश्न उठाए।

"यो संसद्को उपहास गरेर उहाँ किन फेरि यो रोस्ट्रममा आउन चाहनुहुन्न? किन उहाँले यो सभाको उपेक्षा गरिरहनुभएको छ? यसको के अर्थ हो?", थापाले अगाडी भने, "यो स्वेच्छाचारिता हो कि अधिनायकवाद हो कि के हो यो? प्रधानमन्त्रीले देशलाई कुन दिशामा लैजान खोजिरहनुभएको छ?"

थापाले वर्तमान संकट दुईवटा प्रमुख परिघटनाबाट उत्पन्न भएको एमालेको निष्कर्ष रहेको बताए। उनले पहिलो परिघटना जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्तिसँग सम्बन्धित रहेको बताए।

"जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीले यही रोस्ट्रमबाट नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभयो। यही घोषणा र अभिव्यक्तिबाट संकट उत्पन्न भएको हाम्रो ठहर छ," थापाले भने।

उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको भारत भ्रमणको एक दिनअघि आकस्मिक रूपमा संसद्मा आएर दिइएको दाबी गर्दै त्यसले विशेष सन्देश प्रवाह गरेको दाबी गर्दै थापाले अहिले सत्तापक्षका सांसदहरू प्रधानमन्त्रीको सोही भनाइलाई स्थापित गर्न तथ्य खोज्दै हिँडिरहेको आरोप समेत लगाए।

जेठ २७, २०८३ बुधबार १७:३८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।