संसदको रोस्टममा बोल्न नदिएको भन्दै हर्कसहितको नाराबाजी, बोल्न दिन्न भन्दै सभामुखले बैठक अगाडि बढाए
काठमाडौं : विपक्षी दलकोतर्फबाट नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी अनि राप्रपाका सांसदहरूले रोस्टममा बोलेपछि सभामुख डीपी अर्यालले संसद्को नियमित प्रक्रियाअगाडि बढाउन खोजेपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नदिएको भन्दै संसदमा अवरोध गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उठेर आफूहरूलाई बोल्न नदिएको भन्दै विरोध गरेका थिए।
त्यसको जवाफमा सभामुख अर्यालले श्रम संस्कृति पार्टीबाट संसदमा बोल्न समय नमागेको प्रस्टीकरण दिएका थिए। तर श्रम संस्कृति पार्टीको तर्फबाट हामीलाई हेप्ने भन्दै निरन्तर विरोध भइरह्यो।
त्यहीबिचमा सांसद रीमा विश्वकर्माले उठेर श्रम संस्कृति पार्टीको सांसदहरूको व्यवहार संसद्को नियमावली विपरीतको गतिविधि गराएको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी थिइन्। तर हर्कसहितका श्रम संस्कृतिका सांसदहरूले कार्वाही गरेको हो भने केको आधारमा कार्वाही गरेको हो सो खुलाउनु पर्ने नभए आफ्नो पार्टीको तर्फबाट पनि रोष्टममा बोल्न दिनुपर्ने बताइरहेका थिए।
सभामुखले उनीहरूको ध्यानाकर्षण गराइरहे तर उनीहरूले निरन्तर विरोध गरिरहे। सभामुख अर्यालले आफूले श्रम संस्कृति पार्टीबाट बोल्न चाहने सांसदको नाम आउँछ भनेर आफूले कुरेको तर नाम नआएको भने। उनी अगाडि बोल्न चाहन्थे तर सांसद हर्क राईले अवरोध गरिरहे। उनले जे गर्न मन लाग्छ गर्नुहोस् भनेपछि सभामुखले अपमानजनक शब्दहरू प्रयोग गरेको भन्दै चेतावनी दिए। उनले आफूहरू केही भन्न खोजेको तर सुन्न नचाहेको भन्दै धैर्यता राख्न आग्रह गरे।
हर्कले आफूले रोस्टममा गएर बोल्न पाएमा समस्या समाधान हुने टिप्पणी गरे। त्यसपछि सभामुख अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले बोल्दा हर्कराज राइले आफ्नो स्थानबाट उठेर निरन्तर बोलिरहेकाले श्रम संस्कृति पार्टी आज संसदमा बोल्न चाहँदैनन् भन्ने बुझेको भन्दै समय दिन्न भनेर नियमित बैठक अगाडि बढाए। त्यसपछि हर्कराज राईसहितका श्रम संस्कृति पार्टीका सांसदहरू रोस्टममा गएर नाराबाजी गरेका थिए।
जेठ २७, २०८३ बुधबार १७:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।