भीष्मराज आङदेम्बेले सभामुख डीपीलाई 'घुम्ने मेचमाथि' भन्दा विपक्षी दलका सांसदहरूले टेबल ठोकेर समर्थन गरिरहे
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणकोक्रममा बोलेका विषय र संसदमा सभामुख डीपी अर्यालको भूमिकाबारे चर्को आलोचना गरे।
संसदमा जारी गतिरोध अन्त्यका लागि बुधवार भएको सहमति अनुसार पहिला परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमण र हालै प्रधानमन्त्री शाहले संसदमा नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिबारे सरकारको धारणा राखेका थिए।
त्यसपछि विपक्षी दलको तर्फबाट बोल्दै आङदेम्बेले प्रधानमन्त्रीलाई उद्दण्ड व्यवहारकर्ताको रूपमा उल्लेख गर्दै अब उनी संसदमा आए पनि नआए पनि प्रमुख प्रतिपक्षी दलले वास्ता नगर्ने भन्दै पुरै अवज्ञाको सन्देश दिए। उनले संसदमा प्रधानमन्त्रीले जो बोलेको हो त्यसबारे आएर आफ्नो धारणा राख्न प्रतिपक्षी दलका सांसदहरूले माग गरे पनि नसुनेको भन्दै अब उनी संसदमा आए पनि नआए पनि प्रतिपक्षी दलको तर्फबाट वास्ता नगर्ने बताए।
प्रधानमन्त्रीले संसदमा देश विरोधी धारणा आउँदा सत्ताधारी दल रास्वपाका सांसदहरूले टेबल ठोकेर समर्थन गरेको र केही सांसदहरू त नेपालले भारतको जमिन मिचेको प्रमाण खोज्दै हिँडेको भन्दै आङदेम्बेले उनीहरूलाई ज्युँदो लासको उपमा समेत दिएका थिए। संसदमा सत्ताधारी संसद् भए पनि सरकार वा सरकारमा रहेकाहरूले गलत गर्दा सत्ताधारी दलका सांसदहरूले विरोध गर्ने परम्परा रहेको भन्दै यसमा रास्वपाका सांसदहरूले भने देशहित विरुद्धको अभिव्यक्तिमा पनि टेबल ठोकेर समर्थन गरेको भन्दै व्यङ्ग्य गरेका थिए।
त्यसपछि उनले रास्वपा सभापति रवि लामिछानेलाई आलोचनाको केन्द्रमा लिए। उनले रविको नाम नलिई हिजो टेलिभिजनमा मिचिएको सीमाबारे क्रान्तिकारी कुरा गर्ने मित्र भारत भ्रमणमा जाँदा सीमा समस्याबारे स पनि उच्चारण नगरेको उल्टो पुरानो ब्यागेज नबोक्ने अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका थिए।
त्यसपछि आङदेम्बेले सभामुख डीपी अर्यालले संसदमा देखाएको व्यवहारबारे नरम रूपमा कडा आलोचना गरे। उनले सभामुख सत्ताधारीप्रति नरम भएको, सरकारले गलत काम गर्दा पनि रुलिङ गर्न नसकेको, बोल्दा समय माग्दा प्रतिपक्षी दलका सांसदहरूलाई कति समय चाहिएको तीन घण्टा भन्दै हेय व्यवहार गरेको भन्दै आलोचना गरेका थिए।
उनले संसदमा सभामुख अर्यालले खेलेको भूमिकाबारे आलोचना गर्नेक्रममा भूपी शेरचनको एक कविताको शीर्षक 'घुम्ने मेचमाथि अन्धो मान्छे' को घुम्ने मेचमाथि मात्र भनेँ। त्यसपछि उनको समर्थनमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर टेबल ठोकेर समर्थन गरिरहे।
जेठ २७, २०८३ बुधबार १७:१०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।