प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्रमन्त्रीले भने– 'त्यो 'क्रस बोर्डर अकुपेसन' को प्रसङ्ग हो'

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्रमन्त्रीले भने– 'त्यो 'क्रस बोर्डर अकुपेसन' को प्रसङ्ग हो'

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको विवादित अभिव्यक्तिमाथि परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्टीकरण दिएका छन्। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइको बचाउ गरे। उनले प्रधानमन्त्रीको आशय नेपालले नियतवश भारतको भूमि मिचेको भन्ने नभई दशगजा क्षेत्रमा हुने गरेको अतिक्रमण र 'क्रस बोर्डर अकुपेसन' सँग सम्बन्धित रहेको स्पष्ट पारे।

"प्रधानमन्त्रीज्यूले दिएको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अक्कुपेसनसँग सम्बन्धित छ," खनालले भने। 

सीमा विवाद समाधानका लागि नेपालले कुनै तेस्रो देशको मध्यस्थता नखोजेको मन्त्री खनालले स्पष्ट पारे। सुगौली सन्धिसम्बन्धी कागजात सङ्कलनका क्रममा बेलायत सरकारसँग सहयोग लिन सकिने विषयलाई प्रधानमन्त्रीले उल्लेख गरेको उनले बताए।

नेपाल–भारत सीमा मामिला पूर्णतः द्विपक्षीय विषय भएको स्मरण गराउँदै मन्त्री खनालले भने, "नेपाल सरकार कूटनीतिक संवाद र वार्ताको माध्यमबाट नै सीमा सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न प्रतिबद्ध छ।"

यही जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री बालेनले "भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ" भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै विपक्षी दलहरूले लगातार संसद अवरोध गर्दै आएका थिए।

जेठ २७, २०८३ बुधबार १६:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।