कांग्रेस संसदीय दलका नेताले संसदमा भने "छापामार शैलीमा संसदमा आएर कुन उद्दण्डता मच्चाउने हो, त्यसैले म अब संसदमा प्रधानमन्त्री खोज्दिन"
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहका लागि संसद् नचाहिएको देखिएको भन्दै संसदमा छापामार शैलीमा आएर राष्ट्रियता विरुद्ध नै उद्दण्डता मच्याएकाले अब संसदमा प्रधानमन्त्री नखोज्ने बताए। संसदमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने आपत्तिजनक अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपछि उनले संसदमा आफ्नो धारणा राखेका थिए।
आफ्नो भारत भ्रमणबारे जानकारी र प्रधानमन्त्री वालेन्द्रको विवादित अभिव्यक्तिबारे प्रस्टीकरण दिनेक्रममा उनले प्रधानमन्त्रीले दशगजा क्षेत्रको सीमाको उपभोगबारे मात्र बोलेको र उनको अभिव्यक्ति लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे नबोलेको भन्दै सरकार नेपालको सार्वभौमसत्ता, अखण्डताबारे प्रतिबद्ध रहेको बताएका थिए।
उनको अभिव्यक्तिपछि संसद्को प्रतिपक्षी दलका सांसदहरू उठेपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आङदेम्बेलाई बोल्न समय दिएका थिए। उनले संसदमा बोल्नेक्रममा प्रधानमन्त्रीले संसदमा आएर नेपालले पनि भारतको जग्गा मिचेको भनेर राष्ट्रहित विरोधी अभिव्यक्ति दिएको र त्यसलाई जसरी व्याख्या गरे पनि सो धारणा राष्ट्रविरोधी रहेको बताएका थिए।
उनले राष्ट्रहितको विपक्षमा प्रधानमन्त्रीले संसदमा बोल्दा प्रतिपक्षी दलका सांसदहरुले प्रश्न उठाउनुको साटो टेबल ठटाएर समर्थन गरेको भन्दै उनले रास्वपाका सांसदहरूको व्यवहारको कडा आलोचना गरे। उनले सरकार र पार्टी फरक अनि सरकार र संसद् पनि फरक रहेको र हिजोका दिनमा सरकार वा सरकारमा रहेकाहरूले गरेको गलत कामको विरोधमा सत्ताधारी दलकै सांसदहरूले समेत संसदमा विरोध गरेको भन्दै प्रधानमन्त्री देशको सार्वभौमसत्ता विरुद्ध बोल्दा पनि उनीहरूले बोल्ने हिम्मत नगरेको भन्दै आलोचना गरेका थिए।
जेठ २७, २०८३ बुधबार १६:११:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।