परराष्ट्रमन्त्री शिशिर खनालद्वारा भारत भ्रमणबारे संसद्मा जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा भारत भ्रमणबारे संसद्मा जानकारी

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा औपचारिक जानकारी गराएका छन्। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणका क्रममा भएका छलफल, भेटघाट र सहमतिका विषयमा संसद्लाई जानकारी गराएका हुन्।

परराष्ट्रमन्त्री खनालले भ्रमण नेपाल र भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउन फलदायी रहेको बताए।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता  गरेको बताए। भेटघाटका क्रममा दुवै देशको सामूहिक हित, आपसी चासो र द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा गहन छलफल भएको उनले बताए। 

उनका अनुसार भ्रमणका क्रममा व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा जनस्तरको सम्बन्ध अझ मजबुत बनाउने विषयमा सार्थक छलफल भएको थियो। साथै आपूर्ति श्रृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा पनि धारणा आदानप्रदान गरिएको उनले जानकारी दिए।

उनले भने, "नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप शसक्त ढंगले अभिव्यक्ति गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ। व्यापार तथा लगानी विस्तार गर्ने ,उर्जा सहकार्य सुदृढ गर्ने,पर्यटन प्रवद्र्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ शसक्त बनाउने बिषयहरुमा ठोस आधार तयार पारेको छ। आपूर्ति श्रृङ्खला सुरक्षा तथा उर्जा साझेदारी जस्ता समसामयिक अन्तराष्ट्रिय मुद्दाहरुमा समेत धारणा आदानप्रदान गरिएको छ।" 

उनले आगामी दिनमा दुवै देशका साझा हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन भ्रमणले बलियो आधार तयार गरेको आफूले महसुस गरेको बताए।

उनले भने, "यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरिय भेटघाटहरुले नेपाल र भारतबीचको कुटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउनका साथै आगामि दिनमा आपसि हितका क्षेत्रमा परिणाममुखी सहकार्य अगाडि बढाउन बलियो आधार तयार भएको मैले महशुस गरेको छु।"

जेठ २७, २०८३ बुधबार १५:५७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।