बाजुराको रानीसैनमा सशस्त्र र नेपाल प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना
बाजुरा : बाजुराको हिमाली गाउँपालिका-३ स्थित रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा पोस्ट स्थापना गरिने भएको छ।
जेठ ३ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाका बासिन्दाहरूले हिमाली गाउँपालिकाका वडा सदस्य पेमागारा गुरुङसहितलाई कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र अन्य स्थानीय नागरिकहरूलाई कुटपिट गरेका थिए। उक्त घटना जेठ ५ गते बाहिरिएपछि गृह मन्त्रालयले सो क्षेत्रमा तत्काल सुरक्षा पहुँच बढाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार, गृह मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयानुसार रानीसैनको लाम्पाटामा सशस्त्र प्रहरीको अस्थायी सीमा सुरक्षा चौकी (बिओपी) र नेपाल प्रहरीको अस्थायी चौकी राख्न लागिएको हो।
लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ।
रानीसैनको लाम्पाटामा हुम्लाका स्थानीयले कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा सदस्य पेमागारा गुरुङ, उनीकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, स्थानीय २४ वर्षीय मीनु कुँवर र प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी घाइते भएका थिए।
जेठ २७, २०८३ बुधबार १२:४०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।