बाठो हुन खोज्ने व्यापारीहरू आफैँ फसे, राज्यलाई फाइदै भएको छ : अर्थमन्त्री वाग्ले

बाठो हुन खोज्ने व्यापारीहरू आफैँ फसे, राज्यलाई फाइदै भएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणअघि राजश्वका दरहरू चुहाएर ठूलो मात्रामा गाडी आयात गर्न सघाएको भन्ने आरोपको खण्डन गरेका छन्।

संघीय संसद्को अर्थ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूमाथि लागेको आरोप निराधार रहेको र वास्तविकता प्रचार गरिएभन्दा ठ्याक्कै उल्टो रहेको दाबी गरे।

बजेट सार्वजनिक हुनुअघि सूचना चुहाएर निश्चित व्यापारीलाई फाइदा पुर्याएको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले अर्थमन्त्री वाग्लेको कडा आलोचना गरेका थिए। कतिपय सांसदले त उनीमाथि राजद्रोहको मुद्दासमेत चलाउनुपर्ने माग गरेका थिए।

त्यसको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भन्सार नाकाबाट बजेटअघि (जेठ १३ गते) पास भएका गाडीहरूको विवरण समितिमा प्रस्तुत गरे। उनका अनुसार सो अवधिमा ६४९ वटा गाडी आयात भएकोमा प्रज्ञापन पत्रअनुसार नै कर तिरेर ती गाडी जाँचपास गराइएका छन्।

आयात भएका गाडीमध्ये ६४६ वटा गाडी कम मूल्यका 'अटो १' श्रेणीका रहेका छन्, जसको कर यस वर्षको बजेटमार्फत घटाइएको छ। कर घट्ने गाडीहरू बजेट आउनुअगावै भन्सार पास गराएकाले ती व्यापारीहरूले पुरानै महँगो दरमा कर तिर्नुपरेको अर्थमन्त्रीको तर्क छ।

‘कर घट्दैछ भन्ने पूर्वसूचना पाएको भए व्यापारीले बजेटपछि मात्र गाडी भन्सार पास गराउने थिए। तर, उनीहरूले पहिल्यै महँगो कर तिरेर गाडी भन्सारबाट छुटाए। यसले गर्दा बाठो हुन खोज्ने व्यापारीहरू आफैँ फसेका छन् र राज्यलाई नै फाइदा भएको छ’, अर्थमन्त्री वाग्लेले भने।

त्यस्तै, बजेटमार्फत कर बढाइएका महँगा गाडीहरू भने जम्मा ३ वटा मात्र आयात भएको उनले स्पष्ट पारे। कर बढ्ने पूर्वसूचना चुहिएको भए महँगा गाडी ठूलो सङ्ख्यामा आयात हुनुपर्नेमा त्यसो नभएकाले सूचना चुहावटको आरोप स्वतः असत्य प्रमाणित हुने जिकिर उनले गरे।

जेठ २७, २०८३ बुधबार ०९:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।