२०२ थान मोटरसाइकल र स्कुटर लिलामी गर्दै मोरङ प्रहरी

२०२ थान मोटरसाइकल र स्कुटर लिलामी गर्दै मोरङ प्रहरी
सांकेतिक तस्बिर

विराटनगर :  जिल्ला प्रहरी कार्यालय मोरङ र त्यस मातहतका कार्यालयहरूमा रहेका २०२ थान पुराना तथा जफत गरिएका मोटरसाइकल र स्कुटर लिलाम बिक्री गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ (प्रबन्ध शाखा)ले आज गोरखापत्र दैनिकमा २१ दिने सार्वजनिक सूचना जारी गर्दै यससम्बन्धी प्रक्रिया अघि बढाएको हो।

प्रहरी कार्यालयका अनुसार लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक इजाजतप्राप्त कम्पनीहरूले २१ दिनभित्र बोलपत्र फाराम खरिद गरी आवेदन दिन सक्नेछन्।

बोलपत्र फाराम खरिद गर्नका लागि कार्यालयको कोड नम्बर ३१४०४१३१० र राजस्व शीर्षक नम्बर १४२२९ मा दुई हजार रुपैयाँ राजस्व जम्मा गरेको सक्कल बैंक भौचरसहित जिल्ला प्रहरी कार्यालय मोरङको प्रबन्ध शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ।

सूचना प्रकाशित भएको मिति (२०८१ जेठ २७ गते) ले २१ औँ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरी बोलपत्र बुझाउनुपर्ने कार्यालयले जनाएको छ।

विभिन्न समयमा बरामद गरिएका वा बेवारिसे अवस्थामा फेला परी कानुनी प्रक्रिया पूरा भएका यी सवारी साधनहरूलाई नियमअनुसार लिलाम गर्न लागिएको हो।

जेठ २७, २०८३ बुधबार ०८:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।