आज कोशी, बागमती र गण्डकीसहित विभिन्न भूभागमा वर्षाको सम्भावना

आज कोशी, बागमती र गण्डकीसहित विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौं : आज देशका विभिन्न भूभागमा आंशिकदेखि साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली हुने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली हुनेछ।

यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा गर्मी (तातो दिन) हुने सम्भावना यथावत् रहनेछ।
रातिको समयमा देशभर साधारणतया बदली रहनेछ।

मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा वर्षाको सम्भावना छ।

साथै कर्णालीलगायत सबै प्रदेशका हिमाली भूभाग र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

जेठ २७, २०८३ बुधबार ०७:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।