सुरक्षा प्रमुखहरूलाई अगाडि राखेर गृहमन्त्री सुधनको चेतावनी : मिडिया ट्रायल र चेलीहरूको चरित्रहत्या सहन्न
काठमाडौं : सम्पत्ति र बिचौलिया समूहसँग शंकास्पद सम्बन्ध सार्वजनिक भएसँगै राजीनामा दिएर मंगलबार दोस्रो पटक पून गृह मन्त्रालय फर्किएका सुधन गुरुङले दोस्रो कार्यकालको पहिलो चार निर्णय सार्वजनिक गरे। उनले सार्वजनिक गरेको निर्णयमा सूचनामाथि निगरानी बढाउन विशेष टिम गठनदेखि जेठ १९ को नारायणहिटी हत्याबारे पुन छानबिन गराउनेसम्म छन्।
चार निर्णयमा जेनजी आन्दोलनकाक्रममा जघन्य अपराधमा चलेका मुद्दा फिर्ता लिन सकिने वा नसकिनेबारे छानबिन गरेर सिफारिससहित प्रतिवेदन बुझाउन कार्यदल बनाउने, गृह अनि सुरक्षा संगठनबाट अति संवेदनशील सूचनाहरू समेत चुहिएको भन्दै त्यसबारे सूक्ष्म निगरानी राख्न सेन्सेन्टिभ इन्फरमेसन भिजिलेन्स टिम बनाउने, २०५८ जेठ १९ मा नारायणहिटीमा भएको हत्याकाण्डबारे छानबिन गर्न समिति गठन गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बलियो बनाउने उल्लेख छ।
गुरुङको पहिलो कार्यकालमा उनले गृह मन्त्रालयको सुविधाको गाडी चढ्दिन भन्दै प्रयोग गरेका गाडीको स्वामित्वदेखि दीपक भट्ट समूहले प्रभावमा पारेर खोलेको कम्पनीमा उनको लगानीसम्मका विवरण मिडियाबाट सार्वजनिक भएका थिए। उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्रीको रूपमा सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण फरक रहेको समेत मिडियाले सार्वजनिक गरेको थियो। प्रधानमन्त्रीका मुख्य सहयोगी कुमार व्यञ्जनकार कलबाइपासमा संलग्न समूहमा संलग्न रहेको आरोपमा पक्राउ परेकोबारे उकेराले विस्तृत विवरण सार्वजनिक गरेको थियो।
यी सबै विवरण कुनै न कुनै गृह र सुरक्षा प्रशासनसँग जोडिन्छन् नै। गुरुङले चेतावनी शैलीमा अब गृह र सुरक्षा संगठनबाट चुहिने सूचना हेर्न नयाँ टिम गठन गर्ने घोषणा गरे पनि त्यो संयन्त्रको कार्यक्षेत्र कस्तो हुने, त्यसको नेतृत्व कस्तो हुने र सूचना सङ्कलनको कार्यविधि कस्तो हुने भन्ने खुलाएनन्। केवल चुनौतीको शैलीमा अब सर्भिलेन्स हुने निर्णय मात्र सार्वजनिक गरे। उनले नारायणहिटी घटनाबारे छानबिन हुने निर्णय त सार्वजनिक गरे तर यसबारे पनि विस्तृत खुलाएनन्।
मन्त्रालयमा सुरक्षा संगठनका प्रमुखहरूलाई अगाडि राखेर निर्णय सार्वजनिक गर्दा सुधन निकै आक्रामक देखिएका थिए। तर्साउने शैलीमा प्रस्तुत भएका उनले प्रारम्भमै आफू पून 'गृहमन्त्रीमा फर्किएकोमा धेरै जना खुसी पनि हुनुहोला अनि धेरै दुखी पनि हुनुहोला' भन्दै आफू जस्तोसुकै आलोचना पनि थेग्न तयार रहेको तर कसैको चरित्र हत्या अब नसहने चेतावनी दिए।
उनले प्रारम्भमै कुनै पनि नेपाली नागरिकको चरित्र हत्या गर्न खोजेमा गृह मन्त्रालय एकदम गम्भीर भएर यसबारे अगाडि बढ्ने दाबी गर्दै अब चरित्रहत्या त्यसमा पनि महिलाको चरित्रहत्याबारे गृह मन्त्रालय गम्भीर हुने दाबी गर्दै भने" विशेष गरेर चेलीहरूको चरित्र हत्या सहन्न। कुनै मिडिया ट्रायलको रूपमा कुनै चेलीले आत्महत्या गर्नु नपरोस्।" उनले कुन प्रशंगमा यसो भनेको हो त्यो प्रसंग भने खुलाएनन्।
पछिल्लो समय सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बढी नै प्राथमिकता दिइरहेको छ। तर ब्युरो सिधै गृह मन्त्रालय अन्तर्गत हैन। ब्युरो प्रहरी महानिरीक्षक अन्तर्गतको युनिट हो। यसको प्रत्यक्ष रेखदेख प्रहरी महानिरीक्षक अन्तर्गत हुन्छ। तर गृहमन्त्री सुधनले अब यही ब्युरोलाई थप शक्तिशाली बनाउने र अनुसन्धान भइरहेको विषय चाँडो टुंगो लगाउने भन्दै भने "अब हरेकको फाइल खोलिन्छ।"
जेठ २६, २०८३ मंगलबार २०:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।