मन्त्रिपरिषद्मा गृहमन्त्री गुरुङ पाँचौँ र नवप्रवर्तनमन्त्री पुन आठौँ वरीयतामा

मन्त्रिपरिषद्मा गृहमन्त्री गुरुङ पाँचौँ र नवप्रवर्तनमन्त्री पुन आठौँ वरीयतामा

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेसँगै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम निर्धारण गरिएको छ। मङ्गलबार नियुक्त भएका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौँ वरीयतामा राखिएको छ।

राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक गरिएको नयाँ मर्यादाक्रम अनुसार मन्त्रिपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठपछि गृह मन्त्रालयमा फर्किएका मन्त्री गुरुङको वरीयता रहेको छ। 

शंकास्पद सम्पत्ति र व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण विवादमा परेपछि गृहमन्त्री पदबाट राजीनामा दिनुअघि उनी मन्त्रिपरिषद्मा पाँचौँ वरीयतामै थिए। पहिलो पटक गृहमन्त्री नियुक्त हुँदा तेस्रो वरीयतामा रहेका उनलाई विरोधपछि पाँचौँमा झारिएको थियो।

गुरुङको राजीनामापछि रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह आफैँले सम्हाल्दै आएका थिए। सम्पत्ति विवरणमा प्रश्न उठेपछि गुरुङमाथि अनुसन्धान गर्न गठित छानबिन समितिको प्रतिवेदन गोप्य राखी उनलाई प्रधानमन्त्री शाहले पुनः गृहकै जिम्मेवारीमा फर्काएका हुन्।

त्यसैगरी, नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका महावीर पुनलाई मन्त्रिपरिषद्‌को आठौँ वरीयतामा राखिएको छ। म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए।

नवनियुक्त दुवै मन्त्रीले मङ्गलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन्। 

जेठ २६, २०८३ मंगलबार १८:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।