नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान प्रविधिमन्त्री पुनले लिए शपथ
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मङ्गलबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनीहरू मन्त्री नियुक्त भएका थिए।
पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङ गोरखाबाट निर्वाचित सांसद हुन्। शंकास्पद सम्पत्ति र व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण विवादमा परेपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
गुरुङको राजीनामापछि गृह मन्त्रालय प्रधानमन्त्री शाह आफैँले सम्हाल्दै आएका थिए। त्यसैगरी, म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित महावीर पुनले नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका पुनले गत फागुन २१ को निर्वाचनअघि पदबाट राजीनामा दिएका थिए। निर्वाचनमा राजनीतिक दलका उम्मेदवारलाई पराजित गर्दै उनी स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
जेठ २६, २०८३ मंगलबार १७:१९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।