बैंकिङ कसुरका १४ मुद्दामा दोषी ठहरिएपछि फरार रहेका मिजार पक्राउ
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
ब्यूरोले मंगलबार एक विवरण सार्वजनिक गर्दै बैंकिङ कसुर मुद्दामा देवीचन्द्र जोशीसमेत जाहेरीले वादी नेपाल सरकार भएको मुद्दाका फरार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ०५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरेको हो।
ब्यूरोका सह प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले मिजार काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका बैंकिङ कसुर (१२) र चेक अनादर (२) गरी जम्मा १४ वटा मुद्दामा दोषी भई फरार रहेका व्यक्ति भएका बताए।
ती मुद्दामा फैसला भई २ करोड ५८ लाख ६२ हजार रुपैयाँ बिगो कायम भएको उनले बताए। उनलाई अदालतले बिगो बमोजिम हुन आएको जरिवाना ४३ लाख २३ हजार तथा क्षतिपूर्ति रकम रु १ लाख ७२ हजार ९४१ र ९० दिन कैद सजाय कायम गरेको थियो।
त्यसपछि फरार रहेका मिजारलाई खोजतलासका लागि खटिएको ब्यूरोको टोलीले यही जेठ २५ गते काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट पक्राउ गरेको थियो। उनलाई मंगलबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको पनि सह प्रवक्ता खड्काले बताए।
जेठ २६, २०८३ मंगलबार १६:५१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।