सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, आजै साढे ४ बजे शपथ

सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, आजै साढे ४ बजे शपथ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन्। 

शंकास्पद सम्पत्ति र व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण विवादमा परेपछि केही समयअघि गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङलाई प्रधानमन्त्री शाहले पुनः सोही जिम्मेवारीमा फर्काएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार गुरुङको शपथ ग्रहण मंगलबार दिउँसो साढे ४ बजेका लागि तय गरिएको छ। सम्पत्ति विवरणमा प्रश्न उठेपछि गुरुङमाथि अनुसन्धान गर्न गठित छानबिन समितिले गत शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेसँगै उनलाई पुनः नियुक्ति गर्ने निर्णय गरिएको हो। छानबिन समितिले जग्गा खरिदमा वास्तविक थैली अङ्क छलेको र जग्गा पास गर्दा गुरुङ स्वयं उपस्थित नभएको उल्लेख गरेको छ। 

यद्यपि, प्रतिवेदनले यसको दोष खरिदकर्ता गुरुङलाई नदिई प्रणालीगत कमजोरीलाई देखाएको छ। यस्तै, सम्पत्ति विवरणमा उल्लेखित सुनको स्रोत पैतृक भनिए पनि त्यसबारे प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छैन।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका थिए। उनले भनेका थिए, “प्रतिवेदन ग्रहण गर्ने निर्णय बल्ल भयो। ग्रहण भएर अध्ययन होला। त्यसपछि आवश्यक निर्णय होला।”

यता राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा गुरुङको भूमिका शंकास्पद देखिएकोले थप अनुसन्धान गर्न सिफारिस गरेको थियो। तर, संवैधानिक निकायको सुझाव बेवास्ता गरी प्रवक्ताको समेत भनाइ सार्वजनिक भएको केही घण्टाभित्रै गुरुङलाई नियुक्तिका लागि सिफारिस गरिएको छ। 

त्यस्तै, प्रधानमन्त्री शाहले स्वतन्त्र सांसद महावीर पुनलाई नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन्। पुन यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री रहेका थिए। 

जेठ २६, २०८३ मंगलबार १५:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।