इरानसँग परमाणु सम्झौता नजिक, दुई हप्ताभित्रै पूर्ण विजय हुने ट्रम्पको दाबी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ताभित्रै इरानसँग नयाँ परमाणु सम्झौता हुने र अमेरिकाले पूर्ण विजय हासिल गर्ने दाबी गरेका छन्।
उनले पर्दापछाडिको सफल कूटनीतिमार्फत इरानलाई अमेरिकी मुख्य रणनीतिक मागहरू मान्न तयार पारेको जिकिर गरे। सीएनएनको रिपोर्ट अनुसार ट्रम्पले नयाँ परमाणु सम्झौता अब धेरै नजिक रहेको दाबी गरेका छन्।
इरान र इजरायलबीच सप्ताहान्तमा भएको तनावपूर्ण सैन्य हमलाहरू रोकिए लगत्तै सिनेटर लिन्डसे ग्राहमको चुनावी अभियानका लागि आयोजित एक भर्चुअल टेलि-र्यालीमा ट्रम्पको यस्तो टिप्पणी गरेका हुन्।
ट्रम्पले भने, "हामी अहिले वार्ता गरिरहेका छौं र उनीहरू निकै राम्रो सम्झौता गर्न चाहन्छन्। उनीहरू हामीलाई सबै कुरा दिन र परमाणु हतियार नबनाउन सहमत छन्।"
भूराजनीतिक गतिरोधको समाधानलाई घरेलु आर्थिक राहतसँग जोड्दै उनले यसबाट विश्वव्यापी ऊर्जा बजारमा ठूलो परिवर्तन आउने दाबी गरे। उनले अगाडि भने, "मलाई लाग्छ हामीले यो लडाइँ जित्दैछौं। आगामी दुई हप्तामा जब हामी पूर्ण विजयको घोषणा गर्नेछौं, तब तपाईंहरूले वास्तविक जित महसुस गर्नुहुनेछ। यो चाँडै हुनेछ र तेलको मूल्यमा भारी गिरावट आउनेछ।"
क्षेत्रीय प्रतिद्वन्द्वी इरान र इजरायलले एकअर्का विरुद्धका क्षेप्यास्त्र प्रहार रोक्दै युद्धको अवस्थाबाट पछि हटेका अवस्थामा ट्रम्पको यस्तो दाबी आएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी लक्ष्यहरूमाथिको सैन्य आक्रमण समाप्त भएको पुष्टि गरे पनि उनले दाबी गरे जस्तो औपचारिक युद्ध विरामको विषयमा भने केही बोलेका छैनन्।
यता, इरानले पनि इजरायल विरुद्धको सैन्य कारबाही स्थगित गरेको छ, तर इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेमा पुनः आक्रमण सुरु गर्ने चेतावनी दिएको छ। यद्यपि, इरानी कूटनीतिक च्यानलहरूले वासिङ्टनसँग सिधा वार्ता जारी राख्न आफूहरू खुला रहेको संकेत दिएका छन्।
एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताएअनुसार यदि अमेरिकाले इमानदारीका साथ कदम चालेमा तेहरानलाई शान्ति वार्ता अगाडि बढाउन कुनै समस्या छैन। तर, ट्रम्पको यो दाबीको समय सीमालाई लिएर प्रश्नहरू पनि उठेका छन्।
एनबीसीको मिट द प्रेस कार्यक्रममा ट्रम्पलाई सोधिएको थियो कि यदि इरान त्यति नै कमजोर अवस्थामा छ भने उसले अहिलेसम्म औपचारिक सम्झौतामा किन हस्ताक्षर गरेन ? यसको बचाउ गर्दै ट्रम्पले भने, "किनभने उनीहरू स्वाभिमानी छन्। उनीहरूले कहिल्यै नगर्ने सोचेका कुराहरू अब गर्नुपर्ने भएको छ। उनीहरूसँग अरू विकल्प छैन, त्यसैले यसका लागि केही समय लाग्छ।"
जेठ २६, २०८३ मंगलबार १४:१२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।