‘सभामुखले बोल्न समय दिए, निश्कल राईले आफैँ समय तोकेर बैठक चलाइदिए’

‘सभामुखले बोल्न समय दिए, निश्कल राईले आफैँ समय तोकेर बैठक चलाइदिए’

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखको भूमिका नै मिचेर आफैँ बैठक सञ्चालन गरेपछि संसद्‌मा नयाँ विवाद उत्पन्न भएको छ।

सभामुख डीपी अर्यालले बोल्नका लागि समय दिएकोमा सचेतक राईले संसदीय मर्यादा विपरीत आफैँ समय तोकेर ५ मिनेट मौनधारण गराएपछि सभामुखले संसद्को अपमान भएको भन्दै कडा आपत्ति जनाएका छन्।

बैठकमा विशेष समय लिएर बोल्न उभिएका कांग्रेस सचेतक राईले सम्बोधनका क्रममा देशका लागि ज्यान आहुति दिने शहीदहरूको सम्मानमा ५ मिनेट मौनधारण गर्ने घोषणा गर्दै सभामुखले झैँ बैठक चलाए।

उनले घोषणा गर्नासाथ प्रतिपक्षी दल नेपाली कांग्रेससहित एमाले र अन्य विपक्षी दलका सांसदहरू आफ्नो सिटबाट उठेर मौनधारण गरेका थिए।

सचेतक राईले संसद्‌मा भनेका थिए, ‘आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने अमर शहीदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेन-जी विद्रोहका शहीदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू ५ मिनेट यहाँ उभिएर मौन धारण गर्नेछौँ।’

सांसद् राईले मौनधारणका लागि उठ्न आग्रह गरेपछि उठेका प्रतिपक्षी दलका सांसदहरू।

संसद्‌मा सभामुखले बैठक सञ्चालन गरिरहेका बेला प्रतिपक्षी बेन्चका सांसदले आफैँ समय तोकेर मौनधारण गराएपछि सभामुख डीपी अर्यालले त्यसप्रति असन्तुष्टि पोखेका छन्। विपक्षी सांसदहरूले ५ मिनेट उभिएर मौनधारण पूरा गरेलगत्तै सभामुख अर्यालले यो कार्यलाई सभाको अपमान भएको बताए।

सभामुख अर्यालले संसद्‌मा भने, ‘सभामुखले सभा चलाइरहेको बेलामा फरक विषयमा समय मागेपछि दिइसकेपछि सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिने शहीदहरूप्रति सम्मान गरिरहनेछौँ।’

‘तर, प्रतिनिधिसभा सभामुखले सञ्चालन गर्दै गर्दा सदस्यहरूले आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँले समय तोकेर जुन किसिमको प्रयास गर्नुभयो, यो सभामाथि अपमान भएको देखिन्छ। आगामी दिनमा यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु’, उनले थपे।

त्यसपछि सभामुखले अन्य सांसदहरूलाई बोल्न समय दिए। आफ्ना कुरा राखिसकेर सांसदहरू उठेर पुन: विरोध जनाएपछि सभामुखले बुधबार विहान ११ बजेसम्का लागि बैठक स्थगित गरेका छन्।

सांसदहरूले प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोष्टमबाट ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेका छन्।

जेठ २६, २०८३ मंगलबार १३:५८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।