काठमाडौं महानगर सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त घोषणा गरेको छ।
‘जो बेसहारा, काठमाडौं महानगरपालिकाको अभिभारा’ भन्ने नाराका साथ सोमबार एक कार्यक्रमका बीच महानगरले यसको औपचारिक घोषणा गरेको हो।
यस अभियानलाई व्यवस्थित र एकीकृत रूपमा सञ्चालन गर्न महानगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र मानव सेवा आश्रमबीच चौपक्षीय सम्झौता भएको छ।
सम्झौता पत्रमा काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।
कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौंलाई सांस्कृतिक पहिचानका साथै मानवतामा आधारित सहरका रूपमा स्थापित गराउन यो कदम चालिएको बताइन्।
महानगरले वि.सं. २०७४ देखि नै सडकमा रहेका बेसहाराहरूको उद्धार तथा व्यवस्थापनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा वार्षिक औसत दुई करोड रुपैयाँ खर्च गर्दै आएको छ।
सोही अवसरमा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा सञ्चालित मेची-महाकाली अभियानको समापनको समेत घोषणा गरिएको छ।
यस अभियान अन्तर्गत देशका विभिन्न भागबाट १९७ जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरिएको आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिए।
जेठ २६, २०८३ मंगलबार ०८:५१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।