नेतृत्व चयनमा विवाद भएपछि रास्वपाको सिराहा जिल्ला अधिवेशन स्थगित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिराहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयमा विवाद भएपछि सुरक्षा संवेदनशीलताको कारण देखाउँदै अधिवेशन स्थगित गरिएको छ।
महाधिवेशन स्थलमा रहेको भीड हिंसात्मक बन्दै गएपछि स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएकाले निर्वाचन प्रक्रिया स्थगन गर्नुपरेको रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
सोमबार स्थगन गरिएको निर्वाचन प्रक्रिया भोलि (जेठ २६ गते) बिहान ९ बजेदेखि पुनः सुरु हुनेछ। आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जारी गरेको विज्ञप्तिअनुसार स्थिति नियन्त्रण बाहिर जान सक्ने देखिएकाले जिल्लामा खटिएका सांसदहरू र निवर्तमान सभापतिसँगको संवादपछि यस्तो निर्णय लिइएको हो।
अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास भइरहँदा दुई पक्षबीच विवाद चर्किएर झडपको स्थिति बनेको थियो। विवादका कारण सोमबार दिउँसो साढे २ बजेबाट सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया प्रभावित भएको थियो।
अधिवेशनमा मुख्यतया निर्वाचन प्रक्रियामा जाने कि सर्वसम्मत नेतृत्व चयन गर्ने भन्ने विषयमा मतभेद बताइएको छ। सभापति पदमा निवर्तमान सभापति हरिप्रसाद मैनालीसहित तीन जनाको उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा सांसदहरूले हस्तक्षेप गरेको सहभागीहरूको भनाई छ। तर, मैनाली पक्षले मतदान प्रक्रियामै जानुपर्ने अडान राखेको थियो।
सांसदहरू पुरुषोत्तम यादव, शिव यादव र बब्लु यादवले रामसोगारथ यादवको नेतृत्वमा कार्यसमिति घोषणा गर्न दबाब दिएको आरोप छ। विवादपछि केन्द्रीय निर्वाचन आयोगले गरेको दोस्रो चरणको भिडियो संवादमा सबै पक्षबीच आपसी समझदारी कायम भएको छ।
भोलि बिहान ९ बजेदेखि सुरु हुने निर्वाचन प्रक्रियालाई सौहार्दपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्ला अधिवेशन कार्यविधि बमोजिम आवश्यक पूर्व तयारी, समन्वय र सुरक्षा व्यवस्थापन मिलाउन जिल्ला निर्वाचन समितिलाई आयोगले निर्देशन दिएको छ।
जेठ २५, २०८३ सोमबार २२:४३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।