ओलीका स्वकीय राजेशको घुसको घरबारे अख्तियारले थाल्यो अनुसन्धान, ४ करोडको सम्पत्तिको मुल्यांकन घटाएर ९६ लाखमा कारोबार

ओलीका स्वकीय राजेशको घुसको घरबारे अख्तियारले थाल्यो अनुसन्धान, ४ करोडको सम्पत्तिको मुल्यांकन घटाएर ९६ लाखमा कारोबार

काठमाडौँ : दरबारमार्गस्थित नेपाल ट्रस्टको १ रोपनी १४ आना जग्गा भाडामा दिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले घुसमा घर लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गर्दा यति एयरको नाममा बालकोटमा रहेको घर बज्राचार्यको श्रीमती रश्मि शाक्यको नाममा पास भएको तर त्यसमा आर्थिक कारोबार भएको नदेखिएको भन्दै सिआइबीले जग्गा भाडामा जोडिएकालाई अभियोग पत्र दर्ता गर्न र घुसको घर भ्रष्टाचारको विषय भएकाले यसबारे भ्रष्टाचारमा अख्तियारमा पठाउन सिफारिस गरेको थियो। यसबारे उकेराले पहिलो पटक प्रमाणसहित उजागर गरेको थियो।

सिआइबीको प्रस्तावित राय अनुसार २०८२ पुस २ मा जिल्ला सरकारी वकिल कार्यालयले जग्गा भाडा प्रक्रियामा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ अनियमितता भएको दाबीसहित जिल्ला अदालत काठमाडौँमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई ठगीमा प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरे पनि बज्राचार्यबारे अनुसन्धान गर्न अख्तियारमा पठाएको थिएन।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले यो कार्यालयको आन्तरिक विषय भएको भन्दै यसबारे बोल्न अस्वीकार गरेका थिए। स्रोतका अनुसार अहिले पनि कार्यालयले यसबारे अख्तियारमा सिआइबीको प्रतिवेदनसहित बज्राचार्यबारे छानबिन गर्न पठाएपछि उनी विरुद्ध अनुसन्धान सुरु गरेको हो।

अख्तियार स्रोतका अनुसार सरकारी वकिलको कार्यालयबाट पत्र सहित आएको सिआइबीको प्रस्तावित रायमा टेकेर बज्राचार्यको श्रीमतीको नाममा देखिएको घरसहित अन्य सम्पत्तिको स्रोतबारे अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु भइसकेको छ।

“बज्राचार्यबारे अन्य उजुरीहरू पनि थिए। त्यसमा सरकारी वकिलबाट अनुसन्धान प्रतिवेदनसहित आएपछि उनीबारे औपचारिक अनुसन्धान सुरु भइसकेको छ,” अख्तियार स्रोतले उकेरालाई भन्यो “छानबिनका लागि बज्राचार्यलाई कार्यालयमै बोलाएर उनको सम्पत्ति विवरण र स्रोतबारे विवरण समेत भराइसकेका छौँ। त्यही अनुसन्धान अहिले अनुसन्धान अगाडि बढेको छ।”

यसरी खुलेको थियो घुसको घर

नेपाल ट्रस्टको दरबारमार्गमा रहेको जग्गा यती समूहलाई भाडामा दिनेक्रममा बदमासी भएको सूचनाको आधारमा सिआइबीले अनुसन्धान गर्दा यती एयर प्रालिको नाममा बालकोटमा रहेको घर-जग्गा रश्मि शाक्यको नाममा ९६ लाख रुपैयाँ मूल्याङ्कन गरेर पास भएको खुल्यो। रश्मि राजेश बज्राचार्यको श्रीमती रहेको खुलेपछि सिआइबीले विस्तृत अनुसन्धान अगाडि बढायो।

यती समूहलाई ट्रस्टको जग्गाहरू लिजमा दिने प्रक्रिया विवादित भएको थियो। त्यो बेलामा प्रधानमन्त्री केपी शर्मा ओली थिए भने बज्राचार्य उनको स्वकीय। प्रधानमन्त्रीको स्वकीयको परिवारको नाममा छानबिनमा तानिएको कम्पनीले घर नै पास गरेर दिएको खुलेपछि यसको स्रोतबारे अनुसन्धान अगाडि बढ्यो।

अनुसन्धानमा बालकोटको रोजभिलेज हाउजिङमा रहेको घर तारा एयर प्रालिको स्वामित्वमा रहेको र यता जग्गा भाडा प्रक्रिया टुंगिएसँगै सो घर बज्राचार्यको श्रीमती रश्मिको नाममा गएको देखिएपछि सिआइबीले रश्मिलाई कार्यालयमा बोलाएर सो घरजग्गा किन्ने प्रक्रियामा भएको भुक्तानीबारे प्रमाण मागेको थियो। तर उनले प्रमाण पेस गर्न सकिनन्।

तारा एयर प्रालीको नाममा रहेको घर जग्गा रश्मीको नाममा पास भएको लालपुर्जाको विवरण।चल्तीको मूल्य करिब ४ करोड भए पनि मालपोत कार्यालयमा भने थैली घटाएर ९६ लाखमा सो घर जग्गा पास भएको थियो। अनुसन्धानमा दरबारमार्गको जग्गा यति समूहलाई लिजमा दिने विवादास्पद निर्णय भएको केही समयमा उक्त घरजग्गा पास भएको देखिएपछि सीआईबीले यसलाई ‘घुस’ वापतको सम्पत्ति भएको निष्कर्ष निकालेको राजेश र रश्मिलाई भ्रष्टाचारजन्य कसुरमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरेको थियो।

लामो समय ओलीको स्वकीय रहेका बज्राचार्य यस अगाडि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय रहेको समूहसँग समेत जोडिएका थिए। तर उनी औपचारिक रूपमा छानबिनको दायरामै तानिएका थिएनन्। बज्राचार्यको श्रीमतीको नाममा घर पास भएको तर त्यसको कारोबार नखुलेकोबारे ओली बचाउमा उत्रिदै हिमालय टिभीको ‘यक्ष प्रश्न’मा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा उनले यतीको घर बज्राचार्यले लिएको स्वीकार्दै त्यो भ्रष्टाचारको नभएको दाबी गरेका थिए।

घरजग्गा किन्दा औपचारिक कारोबार भएको नदेखिएकोबारे प्रश्नमा उनले भनेका थिए "के यतीसँग घर किन्न हुन्न र?, अनि बैंकबाट गएको पैसा देखिएन रे, दुई-चार लाख गरेर नगदै दिन सकिन्न र!"

सम्बन्धित समाचार

जेठ २५, २०८३ सोमबार २१:५४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।