विवाद सुल्झाउन सुदूरपश्चिम सरकारमा फेरिए कांग्रेसका मन्त्री
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरू हेरफेर गरिएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्ने समझदारीअनुसार सोमबार पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सांसदलाई सरकारमा सामेल गराइएको हो।
नवनियुक्त मन्त्रीहरूमा विक्रमसिंह धामी (आर्थिक मामिला), मानबहादुर रावल (उद्योग, पर्यटन, वन तथा वातावरण) र बेलबहादुर रानामगर (सामाजिक विकास) रहेका छन्। त्यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री र मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरिएको छ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री शाहले सोमबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन्।
दलको नेताबाट मुख्यमन्त्री शाहलाई हटाउनेसम्मको कसरतले कांग्रेसभित्र सिर्जना गरेको विवाद मन्त्रिपरिषद् हेरफेर टुंगिएको छ। इतर समूहबाट रावल, रानामगर र दानी सरकारमा सहभागी भएका छन् भने मुख्यमन्त्री पक्षबाट धामी र भारती नियुक्त भएका छन्।
यसअघि मन्त्री रहेका बहादुरसिंह थापा, मेघराज खड्का, शिवराज भट्ट तथा राज्यमन्त्रीहरू सरस्वती खड्का र प्रकाशबहादुर बमलाई फिर्ता बोलाइएको छ। सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमालेको संयुक्त सरकार छ।
कांग्रेसले मन्त्री फेरेसँगै एमालेले पनि पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा पार्टी केन्द्रबाट मन्त्री नफेर्न निर्देशन दिएपछि उक्त प्रक्रिया रोकिएको थियो। एमालेबाट सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री छन्। मन्त्री फेर्ने निर्णयबाट संसदीय दल पछि हटेपछि एमालेभित्र विवाद उत्पन्न भएको छ।
जेठ २५, २०८३ सोमबार २१:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।