अरूको छोरीलाई आफ्नी दाबी गरी नागरिकता दिलाएको अभियोगमा मेयर सिंहविरुद्ध मुद्दा
काठमाडौं : अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा विवरणका आधारमा नागरिकता दिलाएको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गर्यो। भट्टराई थरकी महिलाकी छोरीलाई आफ्नी छोरीका रूपमा प्रस्तुत गरी जन्मदर्ता र त्यसका आधारमा नागरिकता प्रमाणपत्र दिलाउन मेयर सिंह भूमिका खेलेको अख्तियारको दाबी छ।
आयोगले सिंहसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेललाई प्रतिवादी बनाएको छ।
२०७१ कात्तिक २० गते वडा कार्यालयमा झुट्टा विवरणका आधारमा जन्मदर्ता गराई सोही आधारमा २०७५ साउन १३ गते नागरिकता जारी गराइएको आयोगले जनाएको छ। सोही प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका तत्कालीन संयोजक एवं उपसचिव पुष्कर राना र सदस्य एवं शाखा अधिकृत परशुराम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरूले नागरिकता दिलाउने कार्यलाई ढाकछोप गरी दोषीलाई बचाउने उद्देश्यले गलत प्रतिवेदन तयार पारेको अख्तियारको दाबी छ। मेयर सिंह र बालिकाकी आमा रिता भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय माग गरेको छ।
यस्तै, तत्कालीन वडा सचिव राय, कार्यवाहक वडा अध्यक्ष ठकुराई र प्रशासकीय अधिकृत पोखरेललाई ऐनको दफा ९, ११ र १२ बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको छ। छानबिन समितिका सदस्यहरू राना र पोखरेललाई भने ऐनको दफा १९ (२) बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
जेठ २५, २०८३ सोमबार १७:५५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।