नेपाल बन्यो एसियन गेम्स छनोटको च्याम्पियन

नेपाल बन्यो एसियन गेम्स छनोटको च्याम्पियन

काठमाडौं : नेपालले सिंगापुरमा सोमबार सम्पन्न एसियन गेम्स पुरुष छनोट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा हङकङलाई डकवर्थ एन्ड लुइस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै १ सय १४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। 

त्यसपछि खेल सम्भव नभएपछि डकवर्थ एन्ड लुइस पद्धतिअनुसार नेपाललाई विजयी घोषित गरियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको योगदान दिए। 

अर्का ओपनर आसिफ शेख शून्य रनमै आउट भएका थिए। वर्षाले खेल रोकिँदा रोहित पौडेल ३५ रन र कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित थिए।

यसअघि हङकङका लागि ओपनर अंशुमन रथले ४५ बलमा ८० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै शाहिद वासिफले ५५ र शिव माथुरले २६ रन जोडे। बलिङतर्फ नेपालका शेर मल्लले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट हात पारे।

छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका नेपाल, हङकङ, मलेसिया र ओमान यसअघि नै आगामी एसियाली खेलकुदका लागि छनोट भएका छन्।  

जेठ २५, २०८३ सोमबार १६:३४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।