पूर्व मन्त्री दीपक खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

पूर्व मन्त्री दीपक खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व मन्त्री दीपक खड्कालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ। 

निर्वाचनका क्रममा पार्टीको उम्मेदवार विरुद्ध लागेको र अन्य दलका उम्मेदवारलाई जिताउन सक्रिय रहेको उजुरी परेपछि समितिले उनीसँग ५ दिनभित्र लिखित जवाफ पेग गर्न भनेको छ।

समितिका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको जेठ २० मा प्रेषित पत्रमा खड्कालाई पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ बमोजिम अनुशासन उल्लंघनको कसुरमा किन सजाय नगर्ने भनी प्रश्न गरिएको छ।

पत्र प्राप्त भएको ५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न उनलाई निर्देशन दिइएको छ। खड्का विरुद्ध २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित मुडे बजारमा आयोजित कार्यक्रममा पार्टी विरोधी अभिव्यक्ति दिएको आरोप छ। 

खड्काले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार नगर्ने, नेपाली कांग्रेसले चुनाव जित्दैन आफ्नो इच्छा अनुसार गर्न भनेर अभिव्यक्ति दिएको पत्रमा उल्लेख छ।

उनले आफ्ना निकटस्थहरूलाई कार्यक्रममा उपस्थित नहुन फोन गरेको र बाहिरी रूपमा 'रुख' चिह्नमा मत मागे जस्तो गरे तापनि आन्तरिक रूपमा 'सूर्य' र 'घण्टी' लगायतका चिह्नमा मत हाल्न लगाएको पत्रमा उल्लेख छ। उनलाई अनुशासन उल्लंघनको कसुरमा सजाय किन नगर्ने भनेर सोधेको छ।  

जेठ २५, २०८३ सोमबार १६:१२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।