प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित

काठमाडौं : विपक्षी दलहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सूचना टाँस गरी स्थगित गरिएको छ। 

सोमबार बसेको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति र बजेटका विषयमा विरोध जनाएपछि आगामी बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो।

गत जेठ १९ गतेदेखि स्थगित भएर सोमबार सुरु भएको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा विवादसम्बन्धी पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उनीहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग राखेका छन्। 

विपक्षीको अवरोधपछि सभामुखले सुरुमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा सर्वदलीय छलफल भएता पनि कुनै ठोस सहमति जुट्न सकेन। विपक्षी दलहरूले समस्या समाधानका लागि संवादमार्फत निकास खोज्न सभामुखलाई आग्रह गरेका छन्।

विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले मंगलबारका लागि बैठक निर्धारण गरेको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

जेठ २५, २०८३ सोमबार १५:४९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।