अनौपचारिक छलफलका लागि बैठक केही समय रोक्न सभामुखलाई आग्रह

अनौपचारिक छलफलका लागि बैठक केही समय रोक्न सभामुखलाई आग्रह

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले संघीय संसद्को जारी गतिरोध अन्त्यका लागि अनौपचारिक छलफल गर्न आजको प्रतिनिधि सभा बैठक केही समयका लागि रोक्न सभामुखसमक्ष आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता पुनले सहमतिको वातावरण बनाउन सभामुखसँग यस्तो अनुरोध गरेका हुन्।

सत्तारुढ दल रास्वपाले आयोजना गरेको सर्वदलीय बैठक सकारात्मक दिशामा अघि बढेको जानकारी दिँदै नेता पुनले आफ्ना असहमतिहरू यथावत् रहे पनि प्रतिपक्ष संसद् नियमित रूपमा सञ्चालन होस् भन्ने पक्षमै रहेको स्पष्ट पारे।

‘सर्वदलीय बैठकको आयोजना हुनु आफैँमा एक सकारात्मक सुरुवात हो,’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘हाम्रा असहमतिहरू आफ्नो ठाउँमा छन्, तर संसद् नियमित चलोस् भन्ने हाम्रो पनि चाहना हो।’

संसद्को रोस्ट्रमबाट बोल्दै नेता पुनले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति र संसद्मा उनको स्पष्टीकरणको अडानमा प्रतिपक्ष दृढ रहेको कुरा पुनः दोहोर्याए।

‘प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भनी दिएको अभिव्यक्ति सच्चिनुपर्छ र त्यसलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ,’ बैठकमा प्रतिपक्षले राखेको अडानबारे जानकारी दिँदै पुनले भने, ‘यस विषयमा प्रधानमन्त्री आफैँ संसद्मा उपस्थित भएर जवाफ दिनुपर्छ भन्ने हाम्रो माग यथावत् छ।’

सदन सुचारु गर्न र प्रतिपक्षले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न सत्तारुढ दलका तर्फबाट विभिन्न सकारात्मक विकल्पहरू प्रस्तुत गरिएको भए पनि ती प्रस्तावहरू अझै परिपक्व भई नसकेको उनको भनाइ थियो।

ती विकल्पहरूलाई अन्तिम रूप दिँदै ठोस सहमति निर्माण गर्नका लागि नेता पुनले आजकै बैठक केही समयका लागि रोक्न सभामुखसँग आग्रह गरे। केही समय बैठक रोकेर गरिने अनौपचारिक छलफलले संसद् सुचारु गर्ने निकास दिने उनको विश्वास छ।

जेठ २५, २०८३ सोमबार १३:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।