संसदमा विपक्षी दलको अवरोध कायमै, प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने एमालेको अडान

संसदमा विपक्षी दलको अवरोध कायमै, प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने एमालेको अडान

काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्। संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे।

बैठकको सुरुमै अवरोध भएपछि सभामुख डिपी अर्यालले एमाले संसदीय दलको उपनेता पद्मा अर्याललाई बोल्ने समय दिएका थिए। बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने बताइन्। उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने भन्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग भएकाले निःसर्त फिर्ता हुनुपर्ने बताइन्।

उनले भनिन्, "यो कुनै एउटा प्रतिपक्षको विषय मात्रै होइन, यो ३ करोड नेपाली जनताको विषय हो, हामी सबैको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ। हामी एकताबद्ध भएर भूल सुधार गर्दै हाम्रा तर्फबाट सभामुख महोदयले त्यसको नेतृत्व गर्नुस्, एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरौँ। यो संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउने काम गरौँ।’

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् अवरुद्ध गर्दै आएका हुन्। आज बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएपनि सत्तापक्ष र विपक्षबीच सहमित जुट्न सकेन।

जेठ २५, २०८३ सोमबार १३:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।