सर्वदलीय बैठकमा सहमति जुटेन : संसद्को अवरोध कायमै, एमालेद्वारा ईपीजी र सीमा मिचिएकोबारे रविसँग प्रश्न

सर्वदलीय बैठकमा सहमति जुटेन : संसद्को अवरोध कायमै, एमालेद्वारा ईपीजी र सीमा मिचिएकोबारे रविसँग प्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यले सोमबार सिंहदरबारमा आह्वान गरेको सर्वदलीय बैठक बिना सहमति टुङ्गिएको छ।

बैठकमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति जुट्न नसकेपछि सङ्घीय संसद्को बैठकमा विपक्षीहरूको अवरोध कायमै राखेका छन्।

अहिले बसिरहेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसद्हरूले आफ्नो भनाइ राखेछि बैठक अवरोध गर्ने उनीहरूको कार्यक्रम छ।

बैठकमा सत्तारुढ दलका नेताहरूले हालैको भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालले संसद्मा सम्बोधन गर्ने प्रस्ताव राखेका थिए।

तर, विपक्षी दलहरूले यो प्रस्तावलाई अस्वीकार गर्दै प्रधानमन्त्री बालेन शाह आफैँ संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका छन्।

बैठकका क्रममा प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति र रास्वपा सभापति लामिछानेको भारत भ्रमणबीच कुनै तादात्म्यता थियो वा थिएन भनी प्रश्न उठाएको छ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बैठकमा यस विषयमा पार्टीको तर्फबाट कुरा राखिएको जानकारी दिए।

एमालेले हालैका दिनमा पनि भारतबाट सीमा मिच्ने काम भइरहेको भन्दै सभापति लामिछानेको ध्यानाकर्षण गराएको थियो।

‘अहिले पनि भारतले सीमा मिचिरहेको छ, उहाँ भारत भ्रमणमा रहँदा पनि सीमा मिचिएको छ, यसका बारेमा त्यहाँ छलफल भयो कि भएन भनेर हामीले सोध्यौँ’, महरले भने।

गत जेठ १८ देखि पाँच दिने भारत भ्रमणमा रहँदा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा नेता नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए।

यसैगरी, एमालेले नेपाल र भारतबीचका सन्धि-सम्झौतादेखि सम्बन्धका बहुआयामिक पक्षमा छलफल गर्न दुवै देशका विज्ञहरू सम्मिलित ईपीजी (प्रबुद्ध व्यक्ति समूह) को प्रतिवेदनका विषयमा पनि कुरा उठाएको छ।

प्रमुख सचेतक महरले सभापति लामिछानेलाई सोधे, ‘तपाईंको भारत भ्रमणका क्रममा ईपीजीको विषय उठ्यो कि उठेन?’

दुई वर्ष लगाएर दुवै देशका विज्ञहरूले संयुक्त रूपमा तयार पारेको उक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानिरहेका छैनन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीचको सम्झौतापछि ईपीजी गठन भएको थियो। ईपीजी गठन गर्नेमध्येका तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको छ भने मोदी हाल पनि भारतको प्रधानमन्त्रीका रूपमा बहाल छन्।

बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमणका क्रममा भएका गतिविधिको ब्रिफिङ गर्नुका साथै राजनीतिक दलहरूबाट उठेका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए।

जेठ २५, २०८३ सोमबार १३:१३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।